वागमान कुलुङ छेस्काम ३, सोलुखुम्बु |
तत्कालिन संविधानसभाभित्र गठित ‘राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समिति’ ले खोटाङलाई १४ प्रदेशमध्येको एउटा प्रदेशको राजधानी बनाउन प्रस्ताव गर्दा त्यस प्रदेशको नामांकरणमा ठुलै विवाद भयो तर राजधानी खोटाङ प्रस्ताव गरिएकोमा उति बिरोध भएन । त्यसले आगामी दिनहरुमा खोटाङको सम्भावनालाई आंकलन गर्न सकिन्छ । तर भविष्यमा संघीय राज्यको राजधानी पाए खोटाङले आफूलाई के गर्छ ? कसरी यसको इज्जत धान्छ वा संविधानले नाममात्र दिइएको राजधानीलाई भौतिक पूर्वाधारयुक्त व्यवस्थित शहरीकरण सहितको राजधानी कसरी बनाउछ ? आफ्नो सिंगो प्रदेशको विकासमा खोटाङले त्यस प्रदेशको केन्द्र हुनुको नाताले के सोचेको छ ? यसबारे बहस र अन्तरक्रिया थाल्न जरुरी छ । यस अन्र्तगत आगामी ५ वर्ष, १० वर्ष वा २० वर्षमा पर्यटन विकासको पुर्वाधार, हिमाली जडिभुटीको उत्पादन तथा निर्यात बजारीकरणका क्षेत्रहरु, जलविद्युतको सम्भावना र अन्य भौतिक पुर्वाधारहरु हुन आउछन् । प्रस्तुत लेख पहाडी विकास तथा संरक्षण समूह नेपाल, समास मिडिया प्रा.लि.,जिल्ला प्राविधिक कार्यालय सोलुखुम्बु र एभ्युन्युज टेलिभिजनमा यात्रा कार्यक्रम निर्माण टोलीको संयुक्त प्रयासमा सोलुखुम्बुको फाप्लु, खोटाङको लामिडाँडा र संखुवासभाको टुम्लिङटारबाट सेतीपोखरी भञ्ज्याङ हुदै सगरमाथा जाने बैकल्पिक पर्यटन पदमार्गको ३६ दिने सम्भाव्यता सर्वेक्षण कार्यपछि तयार गरिएको हो । यसलाई उक्त सर्वेक्षण कार्यको प्रतिवेदन पनि भन्न सकिन्छ ।
सगरमाथा जाने हालको पदमार्ग र यसमा रहेका कमजोरीहरु
संसारको सबैभन्दा अग्लो हिमशिखर सगरमाथा खुम्बु हिमनदी बग्ने खुम्बु उपत्यका भित्र सोलुखुम्बुको खुम्जुङ गा.वि.समा पर्दछ । उक्त उपत्यकाभित्र ल्होत्से, कालापत्थर, कोङडे, आमाडम्लाङ, पुमोरी, चोयु, नुप्से, आईसल्याण्ड पिक, लोत्से, गोक्यौ, लबुचे लगायतका दर्जनौ विश्वविख्यात हिमशिखरहरु छन् । यद्यपी यो उपत्यकाभित्र प्रवेश गर्न एकमात्र प्रवेशद्वार लुक्ला हो । हवाईजहाजमा जाने पर्यटकहरुले संसारको टप १० वटा खतरनाक हवाईमैदानहरु मध्येका एक, यो हवाईमैदानमा हरेक पटक आफ्नो ज्यानको बाजी मारेर अवतरण गर्नुपर्ने हुन्छ । यो हवाईमैदानमा ओर्लेका विदेशी पर्यटकहरु खुम्बु हिमनदीको नागबेली पहिल्याउदै सगरमाथासम्म पुग्छन्, सयौ हिमशिखरहरुको अवलोकन गर्छन् । तर फर्कने बेलामा फेरी उही हिमनदीको नागवेली पहिल्याउदै, उही हिमश्रृखलाहरुको दृष्यावलोकन गरेर लुक्ला फर्कनुपर्ने हुन्छ । किनभने त्यो भञ्ज्याङबाट अर्को सेतीपोखरी भञ्ज्याङ निस्कन ५,८०० मिटरको आम्फुलाप्चा पास गर्नुपर्नेहुन्छ वा दोलखाको छो–रोल्पा ताल निस्कन ५७०० मिटरको टासिलाप्चा पास गर्नुपर्ने हुन्छ जुन विकल्प सबै विदेशी पर्यटकहरुको पहँुचमा छैन । यद्यपी यी भौगोलिक कठिनाईका बीच पनि बर्षेनी हजारौं विदेशी पर्यटकरु लुक्ला भएर खुम्बु उपत्यका प्रवेश गर्दछन् । दिनमा ७५ वटा भन्दा बढी जहाज उडान भर्ने नेपालको सबैभन्दा ब्यास्त हवाईमैदान लुक्ला हो । दर्जनौं रात स्थानीय जनसंख्याभन्दा बढी विदेशी पर्यटकहरुले बास गर्ने नेपालको एक मात्र गा.वि.स नाम्चे पनि त्यही उपत्यकामै पर्दछ ।
सेतीपोखरी भञ्ज्याङ र त्यहाँबाट लामिडाँडा हवाईमैदानः
नेपालको सबैभन्दा ठुलो नदी सप्तकोशीको मुहान सेतीपोखरी हो । खुम्बु उपत्यकाको छिकुङबाट ५८०० मिटर उचाई रहेको आम्फुलाप्चा पास गरेर दक्षिणतिर मोडिएपछि सेतीपोखरी भञ्ज्याङ भित्र सेतीपोखरी ताल भेटिन्छ । त्यही सेतीपोखरी रहेको भञ्ज्याङभित्र बरुञ्जे, चाम्लाङ, मेरा, हुंगु चुली १, हुंगु चुली २, चारपाटे लगायतका दर्जनौं हिमशिखरहरु छन् । उक्त भञ्ज्याङबाट ६१३५ मिटरको उचाईमा रहेको शेर्पेनीकोल पास गरे मकालु हिमाल, ५४१५ मिटरको मेराला पास गरे सोलुखुम्बुको नौंलेख गाँउ निस्कन सकिन्छ । त्यस्तै सेतीपोखरीबाट हिमनदी जसरी बगेको छ त्यसरी नै खोलाको किनारै किनार तल झरे सोलुखुम्बु छेस्कामको मुद्वि निस्कन सकिन्छ । यो बाटोको जम्मा निर्माण लागत ६८ लाख रुपैया (जिल्ला प्राविधिक कार्यालय सोलुखुम्बुको प्रतिवेदन) भए पनि २० लाख रुपैयाको लागतमा बाटो खन्ने कार्य शुरु भएको छ । बाँकी बजेटको खोजीमा स्थानीय लागि परेका छन् ।
यी चार बिकल्पहरुबाहेक उक्त भञ्ज्याङबाट करिब ३९०० मिटर उचाईको धर्मढोका पास गरेर थप दक्षिणतिर मोडिए सोलुखुम्बु र संखुवासभाको बीचमा अवस्थित केन्पाडाँडा आउन सकिन्छ । सेतीपोखरी उपत्यकाबाट खोलाको किनारै किनार छेस्कामको मुद्वी आउनु बाहेक अन्य हिमालहरु पास गरेर आइने ५ वटा बिकल्पहरुमा यो सबै भन्दा कम उचाई पास गरेर निस्कन सकिने सजिलो बाटो हो । यसरी सेतीपोखरीबाट केन्पा आएका विदेशी पर्यटकहरुले सोलुखुम्बुको भुकुर भोजपुरको साल्पा शिलुछो÷शिलिछोको पर्वतीय श्रृखलाहरुहुदै साल्पा पोखरी भएर खोटाङ आईपुग्नेछन् । केन्पाको पेकरसिद्वीमा गौबित्ता धार्मिकस्थलको अवलोकन गर्न सकिन्छ भने साल्पामा साल्पा धार्मिक स्थालको अवलोकन गर्न सक्नेछन् (थप अनुसुची १ र २) । प्रस्तावित यस पर्यटनमार्गको बाटोमा कमिरे डाँडा, बतासे डाँडा, भुकुर डाँडा, शिलुछो पिक आदि ठाँउहरुबाट ल्होत्से, मकालु, सगरमाथा, मेरा, दुधकुण्ड, चाम्लाङ, कन्चन्जंगा लगायतका दर्जनौ हिमशिखरहरु हेर्न सकिन्छ । अक्टोबर सिजनमा यस ठाँउहरुमा पानीको उपलब्धता पनि छ । खोलाको किनारै किनार आउदा कुनै पनि ठाँउहरुको दृष्याकलोकन गर्न नसकिने तर यो प्रस्तावित हिमाली बाटो हुदै साल्पासम्म आएका विदेशीहरुले डाडैडाँडा हिमालको दृष्यावलोकन गर्न सकिने हुनाले पर्यटकहरु माथीको प्रस्तावित बाटो भएर आउने स्थानीय पर्यटन व्यवसायीहरु बताउछन् । यद्यपी उक्त सेतीपोखरीबाट हिमपात भएको अवस्थामा खोलाको किनारै किनार सजिलै आउन सकिने भएकोले यस तल्लो मार्गलाई हिमपात उद्दार मार्गको रुपमा विकास गर्न सकिन्छ । यसर्थ खोटाङबाट उक्त सप्तकोशीको किनारै किनार वा शिलुछो, भुकुर, केन्पा, धर्मढोका हुदै डाँडैडाँडा दुवै विकल्पहरुमध्ये एउटा विकल्प रोजेर विदेशी पर्यटकहरु सेती पोखरी भञ्ज्याङ जान सक्नेछन् । तर बसन्त ऋतुमा पानीको समस्या भए साल्पाबाट सोलुखुम्बुको गुदेल, छेस्कामको मार्मेकु, भैसीरि, मेकटो हुदै मकालु बरुण राष्ट्रिय निकुञ्ज भित्रको घनाजंगल भएर पनि केन्पा निस्कन सकिन्छ ।
आम्फुलाप्चामा हिमाली केबलकारको परिकल्पना र बहुआयामिक पर्यटन मार्गको विकासः
प्रस्तावित शिलुछोदेखि भुकुर, केन्पा, धर्मढोका हुदै सेतीपोखरीसम्मको बाटो निर्माणपछि अक्टोबर सिजनमा विदेशीहरु उक्त डाँडैडाँडाको बाटो भएर सेतीपोखरी पुग्नेछन् । यो बाटो खासै धेरै बनाउनु पर्दन । भेडा गोठालो वा चौरी गोठालोहरु यो बाटो भएर हिड्दै आएका छन् । यहाँ भेडा र चौरी हिड्ने पुरानो बाटाहरु पाइन्छ । समग्रमा खोटाङबाट सेतीपोखरी उपत्यका जान ३ वटा बैकल्पिक बाटाहरुको सम्भावना छन् त्यसलाई अपर, मिडल र लोवर बाटो भन्न सकिन्छ । पर्वतीय श्रृंखलाहरु हुदै जाने बाटो अपर हो । पानीको अभाव भए पर्वतीय श्रृंखला हुदै जान नसकिने अवस्थामा मकालु बरुण राष्ट्रिय निकुञ्जको घनाजंगल भएर जाने बाटो मिडल हो । तर पुरै हिमपात भएको समयमा सेतीपोखरी भञ्ज्याङबाट खोलाको किनारै किनार छेस्काम निस्कने बाटो लोवर वा हिमपात उद्दार मार्ग हो । तर खोटाङको लामीडाँडाबाट यी तिनै मार्गहरु भएर सेतीपोखरी पुग्न सकिन्छ । भविष्यमा सेतीपोखरीबाट सजिलै ५८०० मिटरको आम्फुलाप्चा पास गर्न सकिने हिमाली केबलकारको विकास गर्न सकिए त्यसले सेतीभ्याली र खुम्बुभ्यालीे जोड्ने पुलको काम गर्नेछ । यसो हुन सके काठमाडौंबाट दैनिक ७५ वटा जहाजमा लुक्ला आएका विदेशीहरु खुम्बुभ्यालीभित्र सगरमाथा लगायतका हिमालहरु हेरेर हिमाली केबलकारबाट सजिलै सेतीपोखरी प्रवेश गरी प्रस्तावित ३ वटा मार्गहरु भएर खोटाङको लामिडाँडा आउनेछन् ।
यसलाई खोटाङको हलेशी महादेवबाट भन्दै लग्ने हो भने त्यहाँ दर्शन गरेका विदेशीहरु स्थानीय ग्रामीण परिवेशको अवलोकन गर्दै शिलुछो, भुकुर, केन्पा भएर हिमाली केबलकारबाट खुम्बु भ्याली हुदै सगरमाथा जानेछन् र खुम्बु उपत्यकाको खुम्बुहिमनदीको नागवेली पहिल्याउदै लुक्ला निस्केर काठमाडौं जानेछन् । यस्तो बेला यो मार्ग धार्मिक, साँस्कृतिक र हिमाल आरोहणको समग्ररुप भएको सबैभन्दा उत्तम पर्यटकीय मार्ग हुनेछ । यो मार्गको विकासले महिनामा एक जना युरोपियन मुस्किलले देख्न सकिने खोटाङमा विदेशीहरुको घुइचो बढाईदिनेछ । नत्र खोटाङले आफै गएर त्यस पदमार्गको सम्भावना अध्ययन गरे हुन्छ । जुलुस निकालेर प्रदेशको राजधानी माग्ने खोटाङले यो सपना देख्न र पुरा गर्न हिम्मत गर्नुपर्दछ । चाहे त्यो २० वर्ष किन नलागोस् । (लेखक उक्त पर्यटन पदमार्ग सर्वेक्षण कार्यको ब्यवस्थापन संयोजक हुन्)
अनुसुची १: केन्पा गौबित्ता धार्मिक स्थल (कालपोखरी):
१६ औ सताब्दीतिर तराईबाट एकजना गुरुङ भेडागोठालो एक हजारभन्दा बढी भेडा सहित केन्पाको गौबित्ता भन्ने ठाँउमा आएछ । गुरुङले खाना बनाउन चुलो बनाउनको लागि तीनवटा ढुँगा ल्याएर चुलो मिलाएछ । जब आगो बालेर खाना बनायो उसले दुध र अन्य चोखो खानेकुरा पकाउदा समस्या भएन तर जब उसले अन्य खानेकुरा पकायो तब चुलो भत्किएर खाना पोखियो । यो क्रम ३÷४ पल्ट दोहोरिए पछि उसले रिसले त्यो ढुँगालाई नै खुकुरीले काट्यो । यसरी काट्दा ढुङगाबाट रगत बगेछ । यसपछि गुरुङले त्यो ढुङगा देउता भएको अनुमान ग¥यौ । नभन्दै त्यस दिन मुसलधारे पानी प¥यौ र उसको सबै भेडालाई नजिकको पोखरीमा बाढीले बगाएर लग्यौ । त्यसपछि उसले त्यस ठाँउमा बर मागेर त्यो देउतालाई एउटा मन्दिर बनाएर राखि दियो । त्यो सुनेपछि स्थानीय एक थिम्रा थरको कुलुङ धामी उक्त ठाँउमा बर माग्न आफ्नो केही टोलीका साथ गयो । उक्त पोखरीमा पुगेपछि धामीले आफुले मन्त्र लगाएर तयार पारेको अछेता भेटी सहयोगीहरुलाई दियो र आफु उक्त तालभित्र पसेर एउटा राँगालाई तानेर ल्याउने कुरा ग¥यो । त्यस्तो बेला उक्त अछेताले मलाई छर्काउनु र जोडदार आफ्नो ड्याङ्ग्रो बजाउनु भनी सहयोगीहरुलाई कडा निर्देशन दिए । तर जब धामीले तालभित्र पसेर साँच्चीकै राँगालाई कानमा समाती तानेर बाहिर ल्यायो तब सहयोगीहरु आत्तिएर अछेता छर्काएर ड्याङग्रो बजाउनुको सट्टा भागे । यसरी सहयोगीहरु भागेपछि उक्त राँगाले उक्त धामीलाई तालभित्र फर्कायो र तालभित्र डुुबायो । केही क्षणपछि तालमा राताम्य रगत देखियो । धामी कहिल्यै फर्केन र त्यस दिनदेखि उक्त तालको नाम कालपोखरी राखियो । आज पनि उक्त कालपोखरी र उक्त गुरुङ गोठालोले काटेको भनिएको देउताको दाग रहेको छ । त्यस पछि बर्षेनी जनैपुर्णिमाको दिन उक्त कालपोखरीमा हजारौको संख्यामा तिर्थालुहरु बर माग्न जाने गर्दै आएको छ । हाल संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, धनकुटा लगायतका ठाँउहरुबाट भक्तजनहरु उक्त गौबित्ताथानमा बर माग्न जाने गर्दछन् ।
अनुसुची २: साल्पा पोखरी एक धार्मिकस्थलः
एउटा किम्बदन्ती अनुसार आदिम युगमा वर्तमान संखुवासभाको अरुण उपत्यका क्षेत्रमा किरात वंशका एक प्रभावशाली राजा राज्य गर्दथे । तराई र कैलाश आवत–जावत गर्ने क्रममा महादेवले त्यो देखेको रहेछ । महादेवलाई किरात राजाको राज्य मन परेको रहेछ । उनले त्यो राज्य हडप्ने मनसायले राजालाई पिनाश रोग लगाएछन् । उनी आफू भने झाँक्रीको रुपधारण गरी लेक बेंशी हिड्दा रहेछन् । राजाले झाँक्रीलाई आफ्नो रोग देखाए छन् । झाँक्रीले राजालाई यो ठाँउ छाडेर जानुपर्ने नत्र रोगले ज्यान लिनसक्ने कपटपूर्ण कुरा गरेछन् । झाँक्रीको सुझावपछि राजा आफ्नो सहयोगीहरुलाई लिएर उपचारका लागि मधेश प्रस्थान गरेछन् । झाँक्रीको रुप धारण गरेका महादेवले राजाको प्रस्थानपछि त्यस राज्यलाई ध्वस्त पारी संखुवा खोला उत्पत्ति गराउनुका साथै रानी र जनतालाई त्यहाँबाट लखेटेर आफू राजा भएछन् । स्वास्थ्य उपचार गर्न गएका किरात राजा फर्केर आउँदा महादेवले आफ्नो राज्य हडपेको र आफ्नी रानीलाई बिचल्ली पारेर धपाएको बाटैमा थाहा पाएछन् । राज्य खोसी सकिएको थियो । त्यसैले उनी रानीको खोजीमा लागेछन् । सबैतिर सोधखोज गर्दा राज्य हडपिएपछि रानी रुँदै साल्पातिर गएको अरुले बताएछन् । राजा आफ्नी रानीको खोजीमा त्यतै गएछन् । रानी गएको बाटोमा उनले टेकेको विभिन्न ठाँउमा धाप र पोखरी निर्माण भएको राजाले थाहा पाएछन् र त्यसैलाई पछ्याउँदै गएछन् । रानी खोज्दै आएका राजाले बिल्बाटे ढुङ्गा (दोबानेको माथि) को टुप्पा चढेर रानी कता पुगिछन् भनेर माथी शिलुछोतिर हेर्दा रानीको टाउको मात्र देखिएछ । त्यसमाथि अर्को ढुंगा राखेर हेर्दा साल्पा पोखरीमा रानी देखेछन् । किरात राजाले आफ्नी रानी खोज्न चढेको ढुंगा भनेर स्थानीयवासी त्यसलाई ‘राजालुङ’ भनेर पुर्काछन् । किरात राजा हतार हतार रानी लिन जाँदा रानीलाई सर्पले बेरिरहेको अवस्थामा भेट्टाएछन् । राजाले उक्त शर्प मार्न खोज्दा रानीले त्यो नागसंग आफुले बिहे गरिसकेको बताउदै मारे ठुलो क्षती बेहोर्नुपर्ने बताइन । वर्षमा तीनपटक लाग्ने साल्पा मेलामा उही विछोडिएका किरात राजा–रानीको सम्झनामा सबैले सय राजा सये सये, सय रानी सये सये गीत समेत गाँउने चलन हालसम्म पनि छ । (राजधन कुलुङ प्रसिद्व किरात धार्मिक तथा साँस्कृतिक स्थल साल्पा पोखरी बाट) ।