प्रमुख अतिथि ‘कसलाई बनाउने’ भन्ने विषयमा विवाद भएपछि अन्तिम समयमा रोकिएको खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रमका बिषयमा हिजोआज चर्चा समेत हुन छाडेको छ । स्थगित भएको खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई पुःन सफल बनाउनेतर्फ हाल कसैको पनि ध्यान पुग्न सकेको छैन । यस बिषयमा चासो समेत दिन छाडिएको स्थानीयको गुनासो छ । जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्नुअघि नगरपालिकालाई गत असार–१८ गते खुल्ला दिशामुक्त घोषणा गर्ने तयारी गरिएको थियो ।
मञ्च व्यवस्थापन, गेट निर्माण, जातीय झाँकी प्रदर्शन लगायतका कार्यक्रम लगायतका तयारी पूरा भइसकेको नगरलालिका खुल्ला दिशामुक्त घोषणा कार्यक्रम अतिथिका बिषयलाई लिएर अन्तिम समयमा बन्द गर्नुपरेको खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिको सचिवालय संयोजक धनप्रसाद गिरीले बताउनुभयो ।
कार्यक्रममा बोलाइएका अतिथिलाई आयोजकले सोही दिन बिहान फोनमार्फत ‘प्राबिधिक कारणबस’ कार्यक्रम गर्न नसकिएको जानकारी गराएको थियो । नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरेपछि मात्र जिल्ला घोषणाकालागि बाटो खुल्ने छ । एक नगरपालिका र ७२ गाविस रहेको जिल्लामा नगरपालिका बाहेक अन्य सबै गाविस खुला दिसामुक्त भइसकेका छन् ।
नगरपालिकाका अनुशार सबैको घरमा वाटरशिल चर्पी निर्माण भएको अनुगमन टोलीले दिएको तथ्यांकका आधारमा खुला दिशामुक्त क्षेत्र घोषणाको तयारी गरिएको थियो । ‘सर्वदलीय÷सर्वपक्षीय बैठकबाटै खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने निर्णय गएको थियो,’ नगरपालिकाका कार्यकारी अधिकृत नारायण ढकालले भन्नुभयो, ‘तर, घोषणा गर्ने समयमा आएर सहमती जुट्न सकेन ।’ भित्र–भित्र प्रमुख अतिथिका विषयमा कुरा नमिलेपछि खुला दिशामुक्त घोषणा कार्यक्रम स्थगित भएको विषयमा भने एमालेले कतिपय घरमा चर्पी बन्न बाँकी रहेका कारण खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न हतार नगर्न भनेको जनाएको छ ।
प्रमुख अतिथि बिवाद जिल्लाको पुरानै रोग
प्रमुख अतिथिका बिषयमा खोटाङका दलहरुबीचमा भएको बिवाद यो पहिलो भने होइन । यसअघिका बिभिन्न सार्वजनिक कार्यक्रमहरुमा समेत प्रमुख अतिथिको बिषयमा दलहरुबीचमा बिवाद हुँदैआएको छ । जिल्लाका सभाषदमध्ये ‘कसलाई प्रमुख अतिथि बनाउने’ भन्ने बिषयमा सहमती नजुट्दा बिगतका दुई वटा जिल्ला परिषद अन्यत्रबाट प्रमुख अतिथि ल्याएर सञ्चालन गरिएको छ ।
गत फागुन–१३ गते भएको जिल्लाको २२ औं परिषद उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहलाई प्रमुख अतिथि बनाएर सम्पन्न गरिएको थियो । त्यसभन्दा अघिल्लो वर्षको २१ औं जिल्ला परिषदमा तत्कालिन संघीय समाजबादी पार्टीका अध्यक्ष अशोक राईलाई ल्याइएको जिल्ला बिकास समितिले जनाएको छ । दलीय असमझदारीकै कारण जिल्लामा अन्यत्रबाट प्रमुख अतिथि ल्याउनुपर्ने अवस्था सिर्जना भएको हो ।
२०७० साल मंसिरमा भएको दोश्रो संबिधानसभाको निर्वाचनपछि जिल्लाका दलहरुबीमा बिवादको बिजारोपण भएको एमाओबादीका जिल्ला सहसचिव सुरेश राई बताउँछन् । दोश्रो संबिधानसभाको निर्वाचनअघि मुलुकको ठूलो दलको सभाषदलाई जिल्ला परिषद लगायत अन्य कार्यक्रममा प्रमुख अतिथि बनाउने परम्परालाई एमालेले तोड्न खोजेपछि दलबीचमा बिवाद बढ्दैगएको हो । त्यस यता प्रायः जिल्लामा हुने महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिका बिषयमा दलहरुबीच बिवाद हुनेगरेको छ ।
त्यसको परिणाम दुई वर्षअघि शिक्षाको बिद्यालय भवन वितरणका निहुमा वर्षदिनसम्म कांग्रेस, एमाओबादी लगायतका दल एकातिर र एमाले एकातिर रहे । जिल्लाका दलहरुले गत पुसतिरै आफ्नो अन्तरबिरोधलाई सहमतीमा टुंग्याएको बताएपनि हालसम्म त्यसलाई कार्यान्वयन गरेर व्यवहारमा देखाउन सकेका छैनन् । प्रमुख अतिथि बन्न र बनाउनकालागि गरिएको होडले जनतामा गलत ‘मेसेज’ गएको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष ललितकुमार राईले बताउनुभयो ।