
खोटाङ फागुन–२९, मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ र भोजपुर जोड्ने दिक्तेल–चखेवा सडक खण्ड कालोपत्रको कामलाई गुणस्तरीयता दिन स्थानीयले खबरदारी गरिरहेका छन् । ठेकेदार कम्पनी रमण गोल्डेन गुड जेबीले कालोपत्रेको जिम्मेवारी लिएको उक्त सडकका लागि मुआब्जा समेत नपाएका स्थानीयले सडक गुणस्तरीय बनाउन रखवारी गरिरहेका हुन् ।
एक अर्ब ९ करोड १९ लाखको लागतमा सम्झौता गरेको कालोपत्रे गर्ने म्याद गुज्रिनका साथै गुणस्तरमा समेत प्रश्न उठ्न थालेपछि स्थानीय झनै सजग बनेको सोही सडक खण्ड आसपासका स्थानीयले बताएका छन् । ‘आफ्नै घरजग्गाको मुआब्जा पनि नपाउनु, अनि आँखै अगाडी भएको गुणस्तरहीन काममा हाम्रो निगरानी पनि नहुनु त हाम्रै कमजोरी हुन्छ ।’ सो सडक खण्डमा पर्ने सोल्माका स्थानीय सप्तमणी राईले भन्नुभयो–‘ हामीले निगरानी राख्दा–राख्दै त कन्ट्र्याक्टर कम्पनीको बेवास्ताले कतिपय स्थानमा गुणस्तरीय काम हुन सकेको छैन, अन्य स्थानमा त धेरै गुनासो आईरहेका छन्,।’
राईका अनुसार सो खण्डमा पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का स्थानीयले ठेकेदार कम्पनी र सडक बिभागलाई नै गुणस्तर कायम गर्न दवाव दिँदा–दिँदै पनि ब्रेष्ट वाल र वालहरुमा कमसल काम भएको पाईएको छ ।
२ बर्षभित्र कालोपत्रेको काम सम्पन्न गर्ने गरी २०७२ सालमा सडक बिभागसँग कालोपत्रेको सम्झौता गरेकोमा सोल्मा आसपासमा भने हाल सब बेशको काम भईरहेको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण सडकको अधिकांस स्थानमा झनै कामले गति लिन र गुणस्तरीयता पाउन नसकेको बताईएको छ ।
सडकको सब बेसमा प्रयोग गरिएको गिटी गुणस्तर नहुनुका साथै पर्खालमा प्रयोग गरिएका सिमेन्टमा समेत मात्र नमिलाइएको भन्दै स्थानीयले चासो देखाएका छन् । गुणस्तर नभएको बारेमा सम्वन्धित निर्माण कम्पनीलाई पटक–पटक जानकारी गराउँदा पनि नटेरेको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताउनुभयो । रिजालका अनुसार नगरपालिका भित्रमा सञ्चालित कुनै पनि आयोजनाको गुणस्तरमा कमी दिईने छैन ।
नेपाल सरकारले घरजग्गाको मुआब्जा दिने ब्यवस्था नहुनका साथै दक्ष तथा सीपयुक्त जनशक्तिको अभाब, भुकम्पको प्रभाब लगायतका समस्याले गर्दा कामलाई तीब्रता दिन नसकिएको निर्माण कम्पनीले जनाएको छ ।
टेलिफोन तथा बिद्युतको पोल नसारेको, सडक किनारका घर–टहरा नभत्काईदिएकोले काममा ढिलाई भएको बताउने कम्पनीले कालोपत्रेको लागि आवश्यक गुणस्तरीय निर्माण सामाग्री नपाईनाले पनि काममा अवरोध भएको जनाएका छन् । सडक कालोपत्रे प्रक्रियाको लागि सबै खाले कामदारको अभाव रहेको कम्पनीको साईड ईन्चार्ज साङगे शेर्पाले जनाउनुभयो ।
उक्त सडकखण्ड कालोपत्रेको लागि ४ खण्डमा बिभाजन गरी निर्माण सम्झौता गरिएको थियो । हालसम्म करिब ६० प्रतिशत मात्रै सडक कालोपत्रेको प्रक्रिया पूरा भएको साईड ईन्चार्ज शेर्पाको भनाई छ ।
एक नम्बर प्याकेजको गत कात्तिकमा र दुई नम्बर प्याकेजको माघमा सम्झौता बमोजिम काम सम्पन्न गर्ने अवधि सकिएको छ । चार नम्बर प्याकेजको निर्माण अवधि भने २०७५ चैतमा सकिने निर्माण कम्पनी सम्बद्ध पक्षले जनाएको छ ।
सबै काम पूरा गर्नको लागि अझै दुई बर्ष लाग्ने निर्माण कम्पनीले स्पष्ट पारेका छन् ।