खोटाङ । ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्रे नगरेर सडक कालाेपत्रेकाे काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्नुपर्नेमा साकेला गाउँपालिकाले भने उल्टै संरक्षण गर्नेमा लागेको छ ।

मध्यपहाडी (पुष्पलाल) राजमार्ग अन्तर्गत चखेवा—सेखुवा सडकको १० किलोमिटर सडक अलपत्र पार्ने निर्माण कम्पनीलाई साकेला गाउँपालिकाले संरक्षण गरेको पाइएको हो ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजाको कार्यालय, धुलीखेलले साे ठेक्का तोड्न सडक विभाग समक्ष सिफारिस गरिसकेको छ । सात वर्षसम्म पनि कालोपत्रे नगरेको भन्दै पुरानै ठेकेदारले फेरि पनि काम नगर्ने दाबीसहित ३ सय ३ जना स्थानीयले हस्ताक्षर गरेर सिडिओमार्फत ठेक्का तोड्न ज्ञापन पत्र बुझाईसकेका छन् । तर, स्थानीय सरकार साकेला गाउँपालिका भने ठेकेदार कम्पनीका प्रतिनिधिलाइ निर्माण सम्पन्न गर्ने सम्झौता गराएर संरक्षण गर्नेमा लागेको हो ।

साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले मैनाचुली निर्माण सेवाका प्रतिनिधि मदनकुमार अधिकारीलाई झिकाएर आठ बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गराएको पाइएको छ ।

राजमार्ग योजनाको कार्यालयले ठेक्का तोड्न सिफारिस गरेपछि ठेकेदारले गाउँपालिकालाई प्रलोभनमा पारेर पुनः म्याद थप्ने प्रपञ्च गरेको स्थानीयहरू बताउँछन् । स्थानीयसँगको सम्झौता देखाएर ठेकेदार कम्पनीले पुनः म्याद थप्ने योजना लिएको बुझिएको छ ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस डोल्पाका सभापति दिपेन्द्रबहादुर शाही हुन् । शाही आवद्ध निर्माण कम्पनी सिद्धिसाई कन्ट्रक्सन हो । सिद्धिसाईसहित भारत कन्स्ट्रक्सन/मैनाचुली जेभीले ठेक्का लिएको हो ।

चखेवाभञ्ज्याङ–सेखुवा सडक र ठेकेदार दिपेन्द्र शाही

अलपत्र परेको चखेवाभञ्ज्याङ–सेखुवा सडक खोटाङ र भोजपुरभित्र पर्ने मध्यपहाडीको कालो धब्बा झैं बन्न पुगेको छ । स्थानीय तथा सो बाटो भएर यात्रा गर्नेहरुले दिनदिनै सास्ती भोग्नु परेको छ ।

राजमार्ग अन्तर्गत खोटाङ भोजपुरका अन्य सबै भागमा कालोपत्रे सम्पन्न भईसकेको छ । राजनीतिक शक्तिको आडमा शाहीले भने कालोपत्रेको काम नै नगरी नवीकरण गर्दै आएको पाइएको हो । यस पटक पनि राजनीतिक पहुँच र शक्तिको आडमा पुनः ठेक्का नविकरणको लागि प्रयास भइरहेको सरोकारवालाहरु बताउँछन् ।

भारत कन्स्ट्रक्सन र मैनाचुली र सिद्दिसाईले ३० फागुन ०७५ सम्ममा सम्पन्न गर्ने गरी २ चैत ०७२ मा चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । तर सम्झौताअनुसार काम नगरेपछि थप भएको पहिलो म्याद १३ पुस ०७७ मा, दोश्रो म्याद १३ असार ०७८ मा र तेश्रो पटक थप भएको म्याद ३० फागुन ०७८ मै गुज्रिसकेको छ ।

भोजपुर–दिक्तेल सडक खण्ड अपग्रेडिङ गर्ने कार्यक्रमअन्तर्गत डबल लेनमा चौडा गर्ने, पुल पुलेसा, स्ट्रक्चर निर्माण गर्ने तथा सब–बेस, बेससहित डिबिएसटी सर्फेस सतहसहित सडक स्तरोन्नति गर्ने गरी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाईले चेनेज ठेक्का लिएको थियो ।

कांग्रेस सभापतिको सडक ठेक्काः ७ वर्षदेखि कालोपत्रे नगरी अलपत्र