काठमाडौं १३ साउन । खोटाङका सांसदहरुले हलेसीलाई केन्द्र सरकार मातहत नै राख्न माग राखेर सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा डेलिगेशन बुझाएका छन् ।
प्रतिनिधिसभाका सांसद विशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई, राजन राई, उषाकला राई, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, पूर्वसभाषद पाँचकर्ण राई, युवा संघका अध्यक्ष रमेशकुमार पौडेल, हलेसी विकास समितिका पूर्व अध्यक्ष कर्ण घले, हलेसी तुवाचुङ नगरपालिका वडाध्यक्ष रमेश तिवारी खत्री, हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेल लगायतको टोलीले मन्त्री रविन्द्र अधिकारीलाई भेटेर हलेसी महादेव विकास समितिलाई संघमा राख्न माग गरेका हुन् ।
उनीहरुले नेपालको साँस्कृति, पर्यटकीय, धार्मिक, ऐतिहासिक तथा प्राकृतिक धरोहरको रुपमा रहेको हलेसी मन्दिरलाई संसारकै आकर्षक गन्तव्य बनाउन प्रशस्तै आधारहरु भएकाले यसको विकास प्रवद्र्धन गर्न संघीय सरकारबाट मात्र सम्भव देखिएको र हाल पनि केन्द्रीय सरकारले नै हेरीरहेको भन्दै संघमा नै राख्न माग गरिएको छ । हलेसीलाई जुन रुपमा पहिचान गरेर यसको प्रवद्र्धन विकासका लागि ठोस योजना बन्नुपर्नेमा त्यो हुन नसकेको समेत जनाइएको छ ।
नयाँ संविधान कार्यान्वयनसँगै स्थानीय तहका धार्मिक तथा पर्यटकिय स्थलहरु पनि स्थानीय सरकार मातहत हुने गर्दछन् । खोटाङका उच्च तहका व्यक्तित्वहरुले भने हलेसीको विकास र प्रवर्धनका लागि भन्दै केन्द्रमा नै राख्न जोड गरेका हुन् ।