
रामधन राई /खोटाङ
असोज–१९, समृद्दि नारा र कुराले नभई कामले सम्भव हुन्छ । यही वुझाई राख्नुहुने खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का वडाध्यक्ष विरेन्द्र ढकाल दिनभरी जनताकै काममा व्यस्त रहनुहुन्छ । वाँकी समय अर्थात साँझ–विहान भने उहाँ आयआर्जनमुलक कार्यमा ब्यस्त रहनुहुन्छ ।
वडाध्यक्ष ढकालको पहिलो कार्य जनताको काम हो भने दोश्रो कालिका वाख्रा फर्मका वाख्राहरुको स्याहार–सुसारको काम । त्यसपछि आम्दानी दिने रुख कटहर, भूईकटहर, केरा आदि फलफूल तथा नर्सरीको काममै भेटिनुहुन्छ । २०३६ सालदेखि विद्यार्थी राजनीति हुँदै मुलधारको राजनीतिमा प्रवेश गर्नुभएको वडाअध्यक्ष ढकाल विहान ४ वजे उठ्नुहुन्छ । तीन/चार भाँडा खोले पकाउनुहुन्छ अनि फर्मभरि रहेका बाख्राखसीलाई खुवाउनुहुन्छ । आफुलाई अति मेहनतीमा राख्ने ढकाल खसीवाख्रालाई खोले खुवाईसकेपछि डोको नाम्लो र हँसिया लिएर घाँसको जोहोमा हिँड्नुहुन्छ ।
बिहान नौं बजेसम्म वाख्रा फार्म र करेसाबारीमा रहनुहुने ढकाल नौं वजे कार्यालय जानुहुन्छ । जनताको काम गर्नुहुन्छ । फर्कनुहुन्छ र खसी वाख्रा र फलफुल खेतीको स्याहारसुसारमा ब्यस्त रहनुहुन्छ । वडाअध्यक्ष ढकालले आफ्नै लगानीमा उन्नत जातको बाख्रा फार्मका साथै केरा तथा कटहरको व्यवसायिक खेती गर्नुभएको छ । २०७२ सालमा २५ वटा बाख्रा खरिद गरी सुरु गर्नुभएको बाख्रा फार्ममा अहिले ९५ वटा बाख्रा तथा खसी छन् ।

विजयखर्कको तल्लो क्षेत्र वाख्रापालनको लागि उपयुक्त हावापानी तथा स्थान ठहरिएपछि आधिकारिक रुपमा फार्म दर्ता गरी बाख्रा पालन शुरु गर्नुभएको ढकाललाई उहाँका श्रीमती एलकुमारी ढकालले पुरै सहयोग गर्नुभएको छ । तीन छोराकी आमा एलकुमारी पनि दिनभर बाख्रा चराउन तथा घाँस काट्नमा व्यस्त रहनुहुन्छ ।
ढकाल दम्पत्तीको तीन छोराहरु बरुण, नरेन्द्र र राजकुमार पनि अध्ययनको अलवा बुबाआमालाई नै सहयोग गर्छन् । बाख्रा फार्म तथा केरा र कटहर खेतीबाट आएको आम्दानीले तीन छोराको पढाइ, घर खर्च र सामाजिक कामका लागि गरिने खर्च कटाएर वार्षिक पाँच लाख बढी बचत हुने गरेको वडाअध्यक्ष ढकालले बताउनुभयो । समाज सेवा गर्ने व्यक्ति पहिले आफू सक्षम हुनुपर्ने उहाँको धारणा छ । ‘व्यवसायबाट आएको आम्दानी घर खर्च कटाएर समाज परिवर्तन गर्नकै लागि खर्च गर्दै आएको छु ।’ उहाँ भन्नुहुन्छ–‘दिनभरी जनताकै काम गर्छु, वाँकी समय आम्दानीमूलक ब्यवसायमा खटिरहेको छु ।’ यसरी काममै रमाउँदा आनन्द लाग्ने ढकालको भनाई छ ।
वडाअध्यक्ष ढकालले श्रीमती एलकुमारी ढकालकै नाममा कालिका बाख्रा फार्म दर्ता गरेर खरी र जमुनापारी क्रस जातका बाख्रा पाल्नुभएको छ । वर्षाको समयमा घरबारीकै घाँसले पुग्ने बाख्राखसीलाई ढकाल परिवारले हिउँदमा भने स्थानीय सामुदायिक वनमा चराउने र जङ्गलको घाँस खुवाउने गरेका छन् ।
ढकाल दम्पत्तीको बाख्रा फार्मसँगै दश रोपनी जग्गामा केरा बगान र तीन रोपनी जग्गामा रुख तथा भुइँ कटहर लगाइएको छ । फार्ममा उत्पादन भएको बाख्राखसी र केरा तथा कटहर वडा नम्बर–१४ बुइपास्थित पञ्चेदोबाटो बजार र वडा नम्बर–१ दिक्तेलस्थित हाटडाँडामा लाग्ने हटियामा खपत हुने गरेको छ । ढकाल दम्पत्तीले फलसँगै भुइँ कटहरको बेर्ना समेत उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ ।