तस्बीर सांकेतिक

काठमाडौं । खोटाङ साकेला गाउँपालिका वडा नम्बर एक निवासी एक वृद्धाले कुटपिटको घटनाको ५ वर्षपछि क्षतिपुर्ति पाउने बाटो खुलेको छ । राष्ट्रिय मानव अधिकार आयोगले ती वृद्धालाई ५० हजार क्षतिपुर्ति उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई सिफारिस गरेको छ ।

बोक्सीको आरोपमा ७३ वर्षिया वृद्धाको २०७३ साल जेठ १३ गते मरणाशन्न हुने गरी सोही गाउँका धनगञ्ज राई र श्रीमती तारा राईले कुटपिट गरेकोमा जिल्ला प्रहरी कार्यालय खोटाङ दिक्तेलले मुद्धालाई सामान्य कुटपिट भन्दै सार्वजनिक अपराध शिर्षकमा मुद्दा चलाएको थियो । ती वृद्धालाई प्रहरी र सिडिओ कार्यालयले न्याय दिलाउन बेवास्ता गर्दै आएको थियो । पीडित पक्षले बोक्सी सम्बन्धी कसुरमा मुद्दा दायर गर्दा समेत प्रहरी प्रशासनले सार्वजनिक अपराध शिर्षकमा चलाएको थियो ।

२०७४ मा जिल्ला प्रशासन कार्यालयले कुटपिटमा संलग्न राईद्धयलाई जनही १० हजार जरिवाना गर्ने निर्णय गरेको थियो । पीडित पक्षले प्रहरी अधिकारीले मिलेमतोमा मुद्धालाई कमजोर बनाउन बोक्सी सम्बन्धी कसुरमा मुद्धा नचलाएर सार्वजनिक अपराधमा चलाएको भन्दै प्रहरी अधिकारीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै मानवअधिकार आयोगमा उजुरी दिएका थिए ।

राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश नम्बर १, शाखा कार्यालय खोटाङ दिक्तेलले घटनास्थलमा नै पुगेर अनुसन्धान प्रतिवेदन केन्द्रमा पठाएको थियो ।

सम्बन्धित समाचार

पीडितलाई पत्तै नदिई सिडिओले गरे बोक्सी सम्बन्धी कुटपिट घटनाको फैसला