खोटाङ ६ पुस
एकदेव अधिकारी
खोटाङका सिडिओ एकदेव अधिकारीले पीडित पक्षलाई थाहै नदिई बोक्सीकाे अाराेपमा कुटपिट घटना सम्बन्धी मुद्धाको फैसला गरेका छन् ।
पीडित पक्षले २०७३ साल जेठ १३ गते जिल्ला प्रहरी प्रशासन कार्यालयमा बोक्सीको आरोपमा मरोणासन्न हुने गरी साकेला गाउँपालिका १ की एक ७२ वर्षियामाथि भएको कुटपिट घटनाबारे जोहरी दिएका थिए । प्रहरीले बोक्सी सम्बन्धी विषयलाई हटाएर जालसाँझी गरेर उक्त घटना सिडिओ कार्यालयलमा पठाएको थियो ।
प्रहरीले जालसाँझी गरेको भन्दै पीडित पक्षले उक्त मुद्धा बोक्सी सम्बन्धी कसुरमा नै अदालतबाट अघि बढ्नुपर्ने माग गर्दै आएका थिए । मानव अधिकार आयोगमा समेत यो विषय पुगेर छानबिनका क्रममा रहेपछि यसअघिका दुई जना सिडिओले मुद्धाको किनारा लगाउन सकेका थिएनन् ।
केही समय अघि मात्र खोटाङको सिडिओ भएर पुगेका अधिकारीले भने घटनाबारे विस्तृतमा बुझ्दै नबुझी पीडित पक्षकाे बयान समेत नलिई फैसला गरेका हुन् । 
पीडित पक्षको बयान समेत नलिई फैसला गरेपछि  सिडिओले आर्थिक लेनदेनको भरमा फैसला गरेको आरोप समेत लागेकाे छ । खोटाङका एमाले एक नेताले सिडिओले पैसाकै भरमा फैसला गरेको हुनसक्ने बताए । ‘सिडिओ साप् माओवादी हुँ भन्दै हिड्छन् रे, फेरि माओवादी नेताहरुले पीडित पक्षलाई सहयोग गर्दै आएका छन्, अर्कातिर दोषी पक्षलाई कांग्रेसका ठूलै नेताहरुको संरक्षण छ भने सिडिओले पैसा खाएर फैसला गरेको हुनुपर्छ’ नाम उल्लेख नगर्ने शर्तमा ती नेताले भने ।
सिडिओ अधिकारीले भने लामो समयदेखि मुद्धा अल्झिएर बसेकाले आफूले फैसला गरेको बताएका छन् । उनले पीडित पक्षलाई खबर गरेको तर नआएको बताए ।
पीडितहरुले भने सिडिओले झुटको खेती गरिरहेको भन्दै झुटको खेती गर्ने, घटना नै नबुझी निर्णय गरेर सिडिओ समेत प्रभावित बनेको दाबी गरेका छन् । ‘गाउँमा छिमेकीको निधनले हामी कोही बयानमा जाने स्थिति थिएन, मैले आफैं सिडिओलाई फोन गरेर के गरौं भने, उनी आफैंले म पनि चखेवा आउँदैछु, फेरि हामी बोलाउँछौं भनेका हुन्, त्यसको केही दिनमा फैसला गरेछन्, अहिले आएर सिडिओले बोलाए भन्छन् भने उनी समेत याे मुद्दामा डिएसपी जस्तै हामी पीडितलाइ हराउन लागेका हाेलान् ।’ एक पीडितले फोनमा भने ।
३०७३ जेठ १२ गते सोकला १ च्यानडाँडामा एक ७२ वर्षिया वृद्धामाथि बोक्सीको आरोपमा नाबालक छोरो नबोलेको भन्दै धनगन्ज राई दम्पत्तिबाट निर्घात कुटपिट भएको थियो । पीडित पक्षले बोक्सी सम्बन्धी कसुरमा मुद्धा चलाउन भन्दै प्रहरीमा जोहरी दिएपनि राजनीतिक संरक्षणमा मुद्धा सिडिओ कार्यालय पुर्याइएको थियो । पीडित पक्षले जोहरीमा लेखेको बोक्सी सम्बन्धी विषय भने प्रहरी आफैंले मेटेको समेत प्रमाण फेला परेका छन् ।
त्यस यता दुई सिडिओले उक्त मुद्धा जटिल बनेकै कारण नछोई बिदाई भएका थिए । अहिलेका सिडिओ अधिकारीले भने घटनाको विषय वस्तु समेत नबुझी र पीडितको बयान समेत नलिई फैसला गरेका हुन् । सिडिओ अधिकारीका अनुसार दोषीमाथि १०/१० हजार जरिवाना गरिएको छ । यता, पीडित ७२ वर्षिया वृद्धाको सो समयमा टाउकोमा सात टाका लगाइएको थियो ।

यो पनि पढ्नुहोस्

बोक्सीका अभियुक्तलाई प्रहरीकै मिलेमतोमा सार्वजनिक मुद्धा

खोटाङ प्रहरीद्धारा पीडितलाई न्याय दिन आनाकानी, आर्थिक चलखेलमा दोषीलाई उन्मुक्ति दिने प्रयास

डिएसपी माझी र असई यादव विरुद्ध उजुरी,     मानव अधिकार आयोगले थाल्यो अनुसन्धान