
काठमाडौं । खोटाङका बिहीबार थप तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसअघि हलेसी तुवाचुङ नगरपालिकामा एक युवामा कोरोना पुष्टि भएकोमा सोही नगरपालिकामा थप ३ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना सङ्क्रमित हुनेमा हलेसी नगरपालिका वडा नम्बर–१ बाहुनीडाँडाका २१/२१ वर्षीय दुई युवक र वडा नम्बर–५ दुर्छिमका ४५ वर्षीय पुरुष रहेका छन् । उनीहरु भारतबाट आएर हाल क्वारेन्टिनमा बस्दै आएका थिए ।
बाहुनीडाँडाका दुई युवक भारतको कानपुरबाट जेठ–११ गते र दुर्छिमका ४५ वर्षीय पुरुष गोरखपुरबाट जेठ–१६ गते गाउँ आएका थिए । गाउँ प्रवेश गर्नासाथ क्वारेन्टिनमा राखिएका उनीहरुको गत जेठ–१७ गते स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको थियो ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि हाल उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको नगरपालिकाले जनाएको छ । उनीहरु परिवार तथा समुदायको सम्पर्कमा नगएको भएपछि बसमा सँगै आएकाहरुको खोजी भइरहेको हो ।
यसअघि सोही नगरपालिकाको वडा नम्बर–७ महादेविस्थानका युवकमा कोरोना पुष्टि भएको थियो । काठमाडौँबाट गत वैशाख–१२ गते उद्दार गरेर ल्याइएका उनको विराटनगरस्थित कोभिड अस्पतालमा उपचार भइरहेको छ ।