खोटाङ जेठ–२, आफ्नै ९ वर्षिय छोरालाई मरणाशान्न हुनेगरी कुटपिट गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय शंकर तामाङ हाल प्रहरी हिरासतमा रहेका छन् । वावुको कुटाईवाट टाउको, पिठ्यूँ, ढाड तथा शरीरको विभिन्न अङ्गमा निलडाम वोकेका छोरा पवन भने वडा कार्यालयको पहलमा जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा छन् ।

बुबाको कुटाइबाट घाइते बनेका बालकलाई टाउको फुटेर रक्ताम्मे भएपछि रोइरहेको अवस्थामा वैशाख ३० गते फेला पारेर उद्दार गरिएको वडाध्यक्ष माधव राईले बताउनुभयो । बुबाबाट कुटिइने साइलो छोरा पवनलाई नेर्पास्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार नभएपछि जिल्ला अस्पताल दिक्तेल ल्याएर थप उपचार थालिएको वडाध्यक्ष राईको भनाई छ ।

गरीब परिवारमा जन्मिएका पवनको आमा ३५ वर्षीया मेनुका तामाङले दुई वर्षअघि अर्कैसँग दोस्रो विवाह गरेर गएपछि उनी बुबाको हेरचाहमा बसिरहेका थिए । पवनसँगै उनका जेठा दाजु १४ वर्षीय सविन, ११ वर्षीय माइला संगम र छ वर्षीय कान्छा करण पनि बुबा शंकरकै साथमा बस्दै आएका छिमेकीले बताएका छन् ।

नाबालक छोरालाई निर्घात कुटपिट गर्ने बुबालाई कानूनी कारबाही गर्न बैशाख ३० गते नै नै पक्राउ गरेर हिरासतमा राखिएको प्रहरीले जनाएको छ । घरैबाट पक्राउ परेका शंकरलाई अभद्र व्यवहार गरेको आरोपमा सोही दिन जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएलगत्तै सात दिनका लागि हिरासतमा राखेर बारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिनुभयो ।

बुबा शंकरलाई प्रहरीले पक्राउ गरेपछि चार बालकलाई केही समयका लागि वडा कार्यालयले खाने र बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष राईले बताउनुभयो ।
आर्थिक रुपमा बिपन्न बालकलाई जिल्ला अस्पतालमा उपचार गर्दा लाग्ने सम्पूर्ण उपचार खर्च छुट गरिएको अस्पताल विकास समितिका अध्यक्षसमेत रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख ववी चाम्लिङले बताउनुभयो ।
ज्यालादारीको काम गरेर परिवार धान्दै आएका शंकरले दैनिक मादक पदार्थ सेवन गरेर छोराहरुलाई कुटपिट गर्ने गरेको छिमेकीले बताएका छन् ।

आमाले छाडेर अर्कै व्यक्तिसँग विवाह गरेर जानुअघिसम्म विद्यालय जाँदै गरेका ती चार बालक अहिले अरुको घरमा काम सघाएर तथा खेलेर दिन बिताउने गरेका छिमेकीले बताएका छन् । पढ्ने उमेरका ती चार बालकलाई बुबाआमा दुवैले बेवास्ता गरेपछि उनीहरुको भविश्य अन्यौलमा परेको वडाध्यक्ष राईले बताउनुभयो ।