खोटाङ बैशाख–१४, कला, साहित्य तथा सङ्गीतको प्रबद्र्दन र बिकासमा क्रियाशील टेम्के तुवाचुङ प्रतिष्ठानले आफ्नो पाँचौं बार्षिक उत्सब खोटाङको बाक्सिलामा मनाउने तयारी गरेको छ । जिल्लाको भाषा, संस्कृति तथा खेलकूद क्षेत्रको समेत संरक्षण, सम्बद्र्दन र बिकासमा जुटेको प्रतिष्ठानले बैशाख २१ गते जिल्लाको केपीलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा भब्यताका साथ बार्षिकोत्सब मनाउने तयारी गरेको हो ।

साबिकको सदरमुकाम दिक्तेलमा मात्र केन्द्रीत नगरी जिल्लाका बिभिन्न स्थानमा कार्यक्रम आयोजना गर्ने प्रतिष्ठानको उदेश्य अनुसार उत्तरी क्षेत्रको ऐतिहासिक ब्यापारिक केन्द्र समेत रहेको बाक्सिलालाई उक्त कार्यक्रस्थल निर्धारण गरिएको अध्यक्ष भोगेन एक्लेले बताउनुभयो । २०७२ बैशाखमा विधिवत स्थापना भएको संस्थाले अघिल्लो बर्ष हलेसीबजारमा बार्षिकोत्सब मनाएको थियो ।

गत बर्षहरुमा जस्तै यो बर्ष पनि कार्यक्रमलाई भब्यता दिलाउन ‘अलग अभियान’ लगायतका साहित्यिक, सांगीतिक तथा साँस्कृतिक टोलीको प्रस्तूति रहने जनाईएको छ । कार्यक्रमको महत्वपूर्ण पक्षमा मूर्तिकार रोजन राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७५ समर्पण’ र गायक तथा सङ्गीतकार पदम थुलुङ राईको ‘लोपोन्मुख भाका प्रस्तुति’ रहने आयोजकले जनाएका छन् । मूर्ति तथा प्रतिमा निर्माण एबम् हस्तकलाबाट देशबिदेशमा आफु र आफ्नो जन्मभूमिको परिचय दिएको भन्दै कलाकार(मूर्तिकार) राईलाई ११ हजार १ सय ११ रुपैंयाँको साथमा ताम्रापत्रले पुरस्कृत तथा कदर गर्ने बताईएको छ ।
हङकङमा रहेको साहित्य तथा संस्कृतिप्रेमी खोटाङेहरुको सक्रियतामा २०७० सालमा निर्माण गरिएको अक्षयकोषबाट बर्षेनी एक जना प्रतिभालाई पुरस्कार प्रदान गर्ने गरिएको छ । फरक–फरक बिधाबाट जिल्लाको परिचय दिने या जिल्लाको हीतमा काम गर्ने उदाहरणीय ब्यक्ति पुरस्कारको भागीदार बन्दै आएका छन् । यसअघि साहित्यकार, कबि चन्द्र रानोहँछा, सितोरियो कराते खेलाडी सञ्जयकुमार राई र गायिका राधा राईले उक्त पुरस्कार ग्रहण गरिसकेका छन् ।

पाँचौ बार्षिक उत्सवको अवसरमा गायक तथा सङ्गीतकार एबम् साँस्कृतिक अभियान्ता पदम थुलुङ राईको किराती लोपोन्मुख मौलिक भाकाहरुको प्रस्तुति रहने छन् । राईले खोटाङ, ओखलढुंगा, सोलुखुम्बु लगायतका ग्रामिण भेगहरुबाट संकलित मौलिक भाकाहरु प्रस्तुत गर्ने जनाईएको छ ।

बाक्सिलाबजारमा प्रतिष्ठानको स्थापनादेखि नै संस्थागत सहकार्य गर्दै आएको ‘अलग अभियान’ टोलीको साहित्यिक तथा साङ्गीतिक प्रस्तुति अर्को आकर्षण बन्ने छ । कार्यक्रममा साईनो कला केन्द्र र खोटाङ डान्स क्र्यु साथै स्थानीय श्रष्टा–सर्जकका प्रस्तुति रहने टेम्के तुवाचुङ प्रतिष्ठान सम्बद्द पक्षले बताएका छन् ।

कार्यक्रम सफल बनाउन केपीलासगढी गाउँपालिकाले सहकार्य गर्ने भएको छ ।