खोटाङ पुस–१३, खोटाङको दिक्तेलवजारमा सुरु भएको बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सहभागी तथा अवलोकन गर्नेको भीड लागेको छ । जिल्लाका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्धेश्यले आगामी शुक्रवार(आज)देखि सुरु भएको नवौं कृषक दिवस तथा कृषि मेला प्रदर्शनीमा जिल्लाका सहभागी तथा अवलोकन गर्नेको भीड लागेको हो ।

कृषि व्यवसायको सम्मान र प्रोत्साहनका लागि जिल्लामा बिगत २०६५ सालदेखि वर्षेनी बृहत कृषि मेला एबं औधोगिक प्रदर्शनी आयोजना हुँदै आएको छ । सोही निरन्तरता स्वरुप दिक्तेलवजारको स्थानीय हेलिप्याडमा कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीको आयोजना गरिएको आयोजक समितिका संयोजक गंगाबहादुर बिश्वकर्माले बताउनुभयो ।

अर्गानिक कृषि उपज उत्पादन एबं बजारीकरणका लागि सञ्चालन गरिएकोे कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीमा कृषक समुह तथा कृषि फर्ममार्फत उत्पादन गरिएका कृषि उपज तथा औधोगिक उत्पादनका ३० वटा भन्दा वढी स्टल रहेका छन् । मेलामा नमुना घर, कृषि उपजवाट निर्मित डमी, माछा लगायतका कृषि उपजहरु आकर्षणको केन्द्र वनेका छन् । दिवस तथा मेलामा ल्याईएका असामान्य हिसावले वृद्दि भएका विभिन्न फलफूल तथा तरकारी, मकैको च्याँख्ला, कोदोको पिठो, घरेलु उद्योगमा उत्पादन गरिएका सामाग्री आदिले पनि स्थानीयको मन तानेको आयोजकले जनाएका छन् । कृषि मेलामा सहभागी किसान, उत्पादक तथा अवलोकन गर्नेको घुईंतो लागेको छ ।

कार्यक्रमको अन्तिम दिन शनिवार तरकारी बाली, खाद्यान्न बाली, फलफुल बाली लगायतका ७ बिद्यामा प्रथम, दोश्रो र तेश्रो हुने किसानलाई क्रमशः ४ हजार, ३ हजार र २ हजार पुरस्कार प्रदान गरिने संयोजक बिश्वकर्माले बताउनुभयो । यस्तै, उत्कृष्ट स्टललाई पनि ५ हजार पुरस्कारको व्यवस्था गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।
कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीकै अवशरमा नगरपालिकाले नगरभित्रका १ जना उत्कृष्ट किसानलाई २५ हजार राशीको पुरस्कार प्रदान गर्ने जनाएको छ ।