खोटाङ जेठ–२५, खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ–जायजुममा बृहत साकेला सिली नाच सहित सामुहिक चुाला पुजा गरिएको छ । किरात राई समुदायको उद्गम थलो मानिने तुवाचुङ–जायजुममा शनिबार बिभिन्न जिल्लाका किरात राई समुदाय भेला भई साकेला सिली प्रदर्शन गर्नुका साथै सामुहिक चुला पुजा गरिएको हो ।

धार्मिक ऐतिहासिक पर्यटकीय स्थलमा पितृको सम्झना एबं संस्कार–संस्कृति संरक्षणको सन्देश दिनका लागि तुवाचुङ जायजुम संरक्षण समितिको आयोजनामा खोटाङ, उदयपुर, ओखलढुंगा लगायतका राई समुदाय भेला भएर तीन चुलाको पुजा गरेका हुन् ।

किरात राईको पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषि युग र मानव सभ्यताको सुरुवात गरेको किंवदन्ती बोकेको स्थलमा हरेक बैसाख पूर्णिमा र मंसिर पूर्णीमा अर्थात उधौली–उभौलीको अवशरमा नछुङ लगी एक÷एक पटक चुला पुजा गर्ने गरिएको संरक्षण समितिका महासचिव दिनेश राईले बताउनुभयो । साकेला उभौलीको अवसरमा संरक्षण समितिको कार्यालयमा चुला पुजा गरेपछि रैछाकुले, तायामा र खियामा तथा भूमे पुजा समेत गरिएको छ ।

त्री–धार्मिकस्थल हलेसीभन्दा केही माथि रहेको तुवाचुङ जायजुममा नेपाल सहित भारतको दार्जिलीङ र सिक्किमका राई समुदाय पुजाआजाका लागि आउने गरेको संरक्षण समितिका अध्यक्ष राकेश राईले सुनाउनुभयो ।

चुला पुजाको अवसरमा खोटाङ र उदयपुरबाट आएका १२ समुहले ढोल, झ्याम्टाको तालमा साकेला गीत गाउँदै सिली नाचेका छन् । बृहत साकेला सिली हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले उद्घाटन गर्नुभएको थियो ।

माझकिरात भनेर चिनिने खोटाङमा उधौली तथा उभौलीको अवसरमा एक महिना दिनसम्म साकेला नाच्ने चलन छ । उभौलीको अवसरमा यो जेठ महिनाभर किरात राई बस्ती रहेको जिल्लाका बिभिन्न स्थानमा साकेला सिली नाचिने जनाईएको छ ।

(तस्बिर सोही नगरपालिकाका उपमेयर बिमला राईको फेसबुकबाट)