टुँडिखेलमा साकेला उधौलीको रौनक

0
663

सिवी अधिकारी
काठमाडौँ, २१ पुस (रासस)  छिटको फरिया, मखमली चौबन्दी चोलीमा सजिएर टुँडिखेलमा कम्मर मर्काउँदै (सिली नाच्दै) थिइन् खोटाङ सिमपानीकी कल्पना राई । शिरमा श्रीबन्दी, श्रीफूल अनि चेप्टे सुन, नाकैमा ढुङ्ग्री कानमा बुलाकीले चटक्क परेकी कल्पना बेहुली झैँ सिँगारिएकी थिइन् । ढाकाको सल, फुर्का, कम्मरमा पोटुकी, सुर्केथैली, खुर्मी हारी र पैसाको माला पहिरिएकी उनी सेलीब्रेटीका रुपमा सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिन व्यस्त देखिन्थिन् ।

कल्पनाजस्तै पहिरनमा ठाट्टिएकी उदयपुर कटारीकी चमेना राई पनि आफ्नो पोशाकप्रति निकै गर्व गर्दै थिइन् । किराँती परम्परागत वेषभूषामा सजिएकी यी प्रतिनिधि पात्र मात्र हैन शनिबार टुँडिखेलमा साकेला उधौली चाड मनाउन जम्मा भएका किराँती समुदायका बालक, युवादेखि वृद्धसम्ममा उल्लासको रौनक छाएको थियो । वर्षमा दुईपटक भएपनि आफ्नो परम्परागत पोशाकमा सजिएर साथीभाइसँग भेटघाट र सुखदुःख आदानप्रदान गर्न पाएकामा सबैका मुहारमा उमङ्ग छाएको थियो ।

यस्तो माहोल जुटाइदिएको हो किराँतको महान चाड ‘साकेला उधौली–५०७८’ ले । किराँत राई यायोक्खा काठमाडौँले शनिबार टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा राजधानीसँगै देशभरबाट जम्मा भएका किराँत समुदायको दरिलो जमघट थियो । “सबै लगाउन गाह्रो छ, एक दिन भए पनि आफ्नो पहिरनमा सजिन पाउँदा र साथीसङ्गीसँग भेटघाट गर्न पाउँदा धेरै गर्वको अनुभूति भएको छ”, चमेनाले भन्नुभयो ।

कल्पनालाई पनि आफ्नो पहिचानमा प्रस्तुत हुन पाउँदा गौरव लागेको रहेछ । उहाँले भन्नुभयो, “वर्षमा दुईपटक यसरी आफ्नो पहिचानको भेषमा उपस्थित भएर साथीभाइबीच मनोरञ्जन गरिन्छ, युवा पुस्ताले आफ्नो संस्कृति र रहनसहनलाई भुल्न हुँदैन ।”

खाढीको कोट दौरासुरुवाल, ढाका टोली, फुर्का अनि कम्बरमा खुकुरी भिरेका भोजपुर छिनामुखुका अशोक राई सिली नाच्न हतारिँदै हुनुहुन्थ्यो । चाड मनाउनै काठमाडौँ आएको बताउने उहाँले संस्कृति र पहिचानसँग घुलमिल हुन पाउँदा हर्षित भएको सुनाउनुभयो ।

मानव सभ्यतादेखि वर्तमान सययमा सम्पूर्ण समाजमा घटेका घटनालाई साकेला सिली छारा नाचेर प्रस्तुत गर्नु नै साकेला सिली हो । यसमा सिकार खेल्नेदेखि कृषि उत्पादनको युग, उद्योग उत्पादन हुँदै वर्तमान युगमा लुगा लगाएर नक्कल झक्कल आदिलाई नाचद्वारा झल्काइन्छ ।

किराँत मात्र हैन, अन्य समुदायका मानिसको पनि उत्तिकै भीड देखिन्थ्यो । किराँती समुदायको खानाका विभिन्न परिकार, पहिरनका वस्तु आदिका कक्षमा निकै भीड लागेको थियो ।

टुँडिखेलमा किराँती पहिरनमा विभिन्न समूह बनाएर साकेला नाच्नेको निकै रौनक थियो । परिवार, आफन्त र साथीभाइका साथ कार्यक्रममा पुगेका केही नाच्नमा व्यस्त थिए भने केही खानपिनमा रमाइरहेका थिए । विसं २०४५ देखि किराँती समुदायले काठमाडौँमा जम्मा भएर साकेला मनाउँदै आएका छन् ।

किराँत समुदायका जानकार एवं सैन्यविद् इन्द्रजीत राईले बालीनाली भित्र्याएको सन्दर्भमा उधौलीमा किराँत समुदायले महान् चाडका रुपमा मान्दै आएको बताउनुभयो । किराँत राई यायोक्खा काठमाडौँका सचिव अशोक राईका अनुसार किराँती समुदायले परम्परागत कला, संस्कृति, वेषभूषाको संरक्षण र प्रवद्र्धनका लागि वर्षमा दुईपटक टुँडिखेलमा जम्मा भएर साकेला चाड मनाइँदै आइएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किराँतीको मुख्य देवता तीन चुलामा आगो बाली सुम्निमा र पारूहाङको तस्बीरमा माल्यार्पण गरेर उद्घाटन गर्नुभएको साकेला उधौली नाच साकेला थानमा गोलाकार भएर नाच प्रस्तुत गरिएको थियो । मुख्यमन्त्री राईसहित किराँती समुदायका अगुवा, सांसद, कलाकार आदिको उपस्थित रहेको थियो ।

सो अवसरमा मुख्यमन्त्री राईले भूमि पूजक किराँती समुदायले हर्षाेल्लासका साथ मनाउने साकेला सांस्कृतिक चाडको आफ्नै गरिमा र महत्व रहेको उल्लेख सामाजिक सद्भाव, एकता र भाइचारा अभिवृद्धिमा साकेलाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । मुलुक परिवर्तनका लागि रामप्रसाद राई, नारदमणि थुलुङ, रन्तकुमार राई आदि किराँती योद्धाको अथक योगदान रहेको बताउँदै ऐतिहासिक सांस्कृतिक किराँती धरोहर र सम्पदाको संरक्षण प्रवद्र्धनमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं १ को नाम र राजधानी चाँडै 
मुख्यमन्त्री राईले प्रदेश संसद्को आगामी हिउँदे अधिवेशनबाट प्रदेश नं १ को नामकरण टुङ्गो लगाइने बताउनुभयो । “अब केही समयपछि प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउँदैछौँ त्यसले प्रदेशको स्थायी राजधानी र नामाकरणका विषय टुङ्गो लगाउनु छ । यी दुवै विषयमा छलफल र बहस व्यापक बनाएका छौँ । लामो समयदेखि बहसका विषय रहेको चुनौतीपूर्ण भए पनि यसलाई सहमतिका आधारमा टुङ्गो लगाउछौँ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री राईले प्रदेशको नाम किराँत राख्नेबारे सम्बद्ध निकाय र विज्ञको राय लिइएको र अन्य विचार र भावनालाई पनि आत्मसात् गरी तथ्यपूर्ण र तर्कपूर्ण आधारको जगमा उभिएर नामाकरणका विषयलाई निरुपण गरिने उल्लेख गर्नुभयो ।

के हो साकेल उधौली ? 
किराँतीको महान् चाड उधौली नेपालसहित विश्वभर छरिएर बसोबास गर्ने भूमिपुत्र किराँत समुदायले मनाउने महान चाड हो । यसलाई साकेला उधौली पर्व पनि भनिन्छ । उधौली चाड मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेंशीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।

किराँत राई प्रकृति र पितृपूजक हुन् । किराँत राईले मनाउने विभिन्न चाडमध्ये प्रमुख चाड उभौली तथा उधौली हुन् । यी चाड वर्षमा दुईपटक मनाइन्छ । मङ्सिर पूर्णिमा मनाइने चाडलाई उधौली र वैशाख पूर्णिमामा मनाइने चाडलाई उभौली र भनिन्छ ।

साकेला नृत्य, ढोल, झ्याम्टा सिर्लिङ, मिरिमा आदि लिई हर्षोल्लासका साथ नाच्ने गरिन्छ । विभिन्न नृत्यको भाव सिली माङपा तथा सिली माङपाको निर्देशनअनुसार वृत्ताकार बनाई प्रस्तुत गरिन्छ । सिली नाच मानव जीवनको विभिन्न पक्ष तथा प्रकृति र पशुपक्षीसँगको सम्बन्धलाई प्रतिविम्बित गर्ने खालका ठाउँ र थर हेरी धेरै प्रकारका हुन्छन् ।

प्रतिक्रिया