खोटाङ, ५ मङ्सिर । प्राकृतिक प्रकोपमा परेका खोटाङ्गेका लागि हङ्कङमा संकलीत राहत रकम जिल्ला दैविप्रकोप उद्दार समितिलाई हस्तान्तरण गरिएको छ । खोटाङ समाज हङ्कङद्धारा स्थापित प्राकृतिक प्रकोप कोषमा जम्मा भएको दुई लाख ४० हजार राहत रकम सोमबार हस्तान्तरण गरिएको हो । 
दिक्तेलस्थित जिल्ला समन्वय समितिको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा जिल्ला दैविप्रको उद्दार समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीलाई उक्त राहत रकम हस्तान्तरण गरिएको कोषका संस्थापक तेजप्रकाश राई (अधिराज)ले बताउनुभयो । रोजगारीको सिलसिलामा हङ्कङ पुगेका खोटाङ्गेहरुबाट संकलीत उक्त राहत रकम जिल्लाका आगलागी, चट्याङ, बाढीपहिरो, हावाहुरी लगायत प्राकृतिक प्रकोपमा परेका पीडित परिवारलाई हस्तान्तरण गरिने जनाइएको छ ।  
आर्थिक वर्ष २०७३÷०७४ भित्र जिल्लामा भएका प्राकृतिक प्रकोप परेर जनधन गुमाएका पीडित परिवारलाई राहत स्वरुप रकम प्रदान गर्न रकम संकलन गरिएको कोष सञ्चालक समितिका अध्यक्ष भोगेन राई (एक्ले)ले बताउनुभयो ।  जिल्ला दैवि प्रकोप उद्दार समितिको तथ्याङ्कका आधारमा पाँच लाखभन्दा कम क्षति भएका २३ पीडित परिवारलाई प्रतिपरिवार पाँच हजार, पाँच लाखदेखि दश लाखभन्दा कम क्षति भएका आठ घर पीडित परिवारलाई प्रतिपरिवार दश हजार र दश लाखभन्दा बढी क्षति भएका तीन परिवारलाई प्रतिपरिवार १५ हजारका दरले प्रदान गरिने जनाइएको छ ।
जिल्लामा पछिल्लो समय प्रकोपमा परेर ज्यान गुमाएका परिवारलाई एक लाख तथा धनसम्पत्ती मात्र क्षति भएका परिवारलाई दश हजार राहत उपलब्ध गराउने गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा प्रत्येक पालिकाले कम्तिमा पाँच प्रतिशत रकम दैविप्रकोपका लागि भनेर छुट्याउने गरेको छ ।