
खोटाङ, मंसिर खुकुरी प्रहार गरेर खोटाङका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका राजकुमार राईले धारिलो हतिहार खुकुरी प्रहार गरी ४२ वर्षीया राजमायाँ राईको हत्या गरेका हुन् ।
घरायसी कुरामा भनाभन हुँदा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा उनको आइतबार दिउँसो घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् । श्रीमतीको हत्या लगत्तै भागेका राजकुमारलाई लुकीरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्यापछि पक्राउ परेका राजकुमार विरुद्ध ज्यान मार्ने अभियोगको मुद्दा दर्ता गरेर कारबाही थालिएको प्रहरी निरीक्षक कृष्ण खड्काले जानकारी दिनुभयो । मृत राजमायाँको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको आफन्तले जनाएका छन् ।
श्रीमतीसँगै ससुराली सोही नगरपालिकाको वडा नम्बर–७ दोर्पा बस्दै आएका उनले ससुरालीमै श्रीमतीको हत्या गरेको स्थानीयले बताएका छन् ।