खोटाङ, मंसिर  खोटाङको ऐतिहाँसिक तथा पर्यटकीयस्थल तुवाचुङ–जायाजुमडाँडामा किरातीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा स्थापना गरिएको छ । प्रचार–प्रसार गर्दै ऐतिहासिकस्थल एबं पर्यटकको गन्तव्यस्थलकारुपमा बिकास गर्नका लागि हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित तुवाचुङ–जायाजुमडाँडामा किरातीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा राखिएको हो । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हलेसीभन्दा केहीमाथि रहेको तुवाचुङ–जायाजुमडाँडामा ढलौटबाट निर्मित किराती पुर्खाको पूर्णकदको प्रतिमा शनिबार अनावरण गरिएको छ । तीन वर्षको प्रयासपछि करिब दुई÷दुई सय केजीको प्रतिमा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राई, पुर्वअध्यक्ष चतुरभक्त राई र गंगाराज राईले संयुक्तरुपमा अनावरण गरेका हुन् ।
देश÷विदेशमा बसोबास गरिरहेका किरात र गैर–किरातको आर्थिक सहयोगमा संकलन भएको ५५ लाखको लागतमा किराती सभ्यताको उद्गमस्थल मानिने धार्मिक तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुममा ढलोटको प्रतिमा स्थापना गरिएको प्रतिमा स्थापना समितिका संयोजक गेन राईले बताए । तुवाचुङ–जायाजुमडाँडालाई किरातीको उद्गम थलो र आस्थाको केन्द्रकारुपमा मान्ने गरिएका कारण तीन पुर्खाको प्रतिमा बनाएर राखिएको प्रतिमा स्थापनामा अगुवाई गरिरहेका किरात राई यायोक्खाले जनाएको छ ।
प्रतिमा स्थापनाले तुवाचुङ–जायाजुमको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको प्रतिमा स्थापना समितिका उपसंयोजक तेजप्रकाश राईले बताए । प्रतिमा स्थापनाकाक्रममा खोटाङ, उदयपुर, ओखलढुंगा, भोजपुर, पाँचथर, इलाम, धनकुटा लगायतका किरात राईको बाक्लो उपस्थिति रहेको थियो । तुवाचुङ–जायाजुमडाँडामा दर्शन गर्न र भ्रमण गर्न देश बिदेशका किराती र गैर–किरातीको भीड लाग्ने गरेको छ । 
किराती मिथक, लोककथा अध्ययन र जानकारसँगको परामर्शमा लामो समय र मेहनत लगाएर कलाकार अर्जुन खालिङले तयार पारेको रेखा चित्र अनुशार रैछाकुले, तायामा र खियामाको ढलौटको पूर्णकदको प्रतिमा तयार पारेर तुवाचुङ–जायाजुममा स्थापना गरिएको हो । किराती पुर्खाको प्रतिमा स्थापनार्थ गठित समितीले पुर्खाको काल्पनिक रेखाभित्र तयार पारेर सार्वजनिक गरेको दुई महिनापछि प्रतिमा राख्ने स्थान निश्चित गरेको थियो ।