सरकारी जागिर छाडेर पत्रकारितामा लागेका वरिष्ठ पत्रकार छाङ्छालाई ४६ हजार सहयोग

मंसिर–६,  सरकारी जागिर त्यागेर ४० वर्षदेखि पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार गोपाल छाङ्छा राईलाई ४० हजार रुपैंयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । केही समयअघि ढाडको ट्युमरको शल्यक्रिया गरिएको पत्रकार छाङछालाई किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमितिले सामाजिक सञ्जालमार्फत संकलन गरेको रकम हस्तान्तरण गरेको हो । 
संकलित रकम संघका अध्यक्ष दीपेन्द्र राईले काठमाडौंको डिल्लीबजारमा रहेको छहरा साप्ताहिक कार्यालयमा एक पुगेर हस्तान्तरण गरेका हुन् ।  वरिष्ठ पत्रकार छाङ्छा राईको स्वास्थ्य सुधार हुँदै गए पनि उनले फिजियोथेरापी गराउँदै आएका छन् । 
स्वास्थोपचारका लागि आर्थिक सहयोग ग्रहण गर्दै पत्रकार राईले किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमिति र सहयोगीको परोपकारी कामको सराहना गरेका थिए । आफ्नै समुदायले गरेको सहयोग सरकारले दिने अनुदानभन्दा धेरै ठूलो भएको छाङछाको भनाई थियो । प्राप्त सहयोगले ४० वर्षदेखि उठाउँदै आएको मुद्दा अझ सशक्त बनाउन ऊर्जा मिलेको उनले जनाए । उनले किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमितिले थालेको अभियानमा साथ दिने सहयोगीलाई समेत धन्यवाद दिए ।
संघले यसअघि पत्रकार श्रीलाल साह, चुनबहादुर गुरुङ र सूर्यकुमार क्षेत्रीलाई समेत स्वास्थोपचारका लागि आर्थिक सहयोग गरिसकेको छ । 
किरात राई पत्रकार संघ वरिष्ठ उपाध्यक्ष प्रकाश खालिङका अनुसार संघले सामाजिक सञ्जालमार्फत अभियान थालेपछि आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायतले समेत छाङ्छाको स्वास्थोपचारका लागि आर्थिक संकलन गरेको थियो । फोनिज बेलायतले पत्रकार छाङ्छालाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ ।