खोटाङ ७ मंसिर
डेढ वर्षदेखि न्याय खोजिरहेकी साकेला गाउँपालिका १ च्यानडाँडाकी एक पीडित ७२ वर्षिया वृद्धाले खोटाङ क्षेत्र नम्बर दुई प्रदेशसभामा नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार विष्णु कुमार राईका कारण नै आफूले न्याय नपाएको दुखेको पोखेकी छिन् ।
आफूलाई बोक्सीको आरोपमा टाउकोमा सात टाका लगाउने गरी कुटपिट हुँदा पनि विष्णु राईकै कारण दोषीले उन्मुक्ति पाइरहेको भन्दै उनले दुःख पोखिन् ।
‘अहिले विष्णु राई हाम्रै क्षेत्रबाट उम्मेदवार बनेको छ रे, म त चिन्दिन पनि, तर उसैको कारण मैले न्याय पाइन, बाँचुन्जेल नभुल्ने दुःख पाएको छु, त्यसको भेलो नहोस्‘ ती वृद्धाले भनिन् ।
उनले दोषीलाई कमजोर मुद्धा चलाएपछि कांग्रेसका नेताहरु बसेर भाले काटेर हर्ष उल्लास मनाएको सुनेको र विष्णु राईकै दबाबमा प्रहरीले कमजोर मुद्धा चलाएको आफूले सुनेको भन्दै त्यस्ता व्यक्तिलाई भोट दिएर जिताउन नहुने समेत बताइन् ।
२०७३ साल जेठ १३ गते च्यानडाँडा एकमा धनगञ्ज राई दम्पत्तिले आफ्नो छोरो बोल्न नसक्ने बनाएको भन्दै मरणाशान्न हुने गरी कुटपिट गरेका थिए । वृद्धाको टाउकोमा सात टाका लगाइएको थियो भने हात खुट्टामा समेत गम्भीर चोट पुगेको थियो । लगत्तै उनका परिवारले प्रहरीमा मुद्धा दायर गरेपनि कांग्रेसका नेताहरुको दबाबमा उक्त मुद्धालाई सामान्य कुटपिटको जस्तै गरेर सार्वजनिक अपराधमा मुद्धा चलाइएको थियो । उक्त मुद्धाको अन्तिम किनारा लागेको छैन । पीडितका आफन्तले उक्त मुद्धा बोक्सी सम्बन्धी कसुरमा नै चलाउनुपर्ने माग गर्दै आएका छन् ।