
![]() |
उम्मेदवार- राजन राई |
खोटाङको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिका–३ (साबिकको बास्पानी गाविसमा जन्मेका वामपन्थी आन्दोलनमा क्रियाशील युवा नेता हुन् राजन राई । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति शुरुवात गरेका उनले विद्यार्थी संगठन हुँदै लामो समय एमाले खोटाङको जिल्ला नेता हुँदै हाल एमालेका वैकल्पिक केन्द्रिय सदस्यसमेत रहेका राई यसपटकको निर्वाचनमा खोटाङ क्षेत्र नम्बर एकबाट वामगठबन्धनको साझा उम्मेदवार बनेका छन् । उनले लामो समयसम्म गरेको राजनीतिक यात्रा र समाज सेवाको कदर गर्दै वाम गठबन्धनले उम्मेदवार बनाएपछि खोटाङको सदरमुकाममा जिल्लाको समग्र विकासको बारेमा पत्रकार भीम राईले उहाँसँग गरेको कुराकानी ।
१, तपाईलाई खोटाङ जिल्लाको क्षेत्र नम्बर १ बाट बाम गठबन्दनले साझा उम्मेदवार बनाएको छ । पछिल्लो अवस्था कस्तो छ ?
म खोटाङको उत्तरी क्षेत्र बास्पानीमा जन्मेको मान्छे । निकै लामै समय यता नेपालको वामपन्थी आन्दोलनमा क्रियाशील छु । मैले नेपाल र नेपाली जनताको आर्थिक सामाजिक अवस्थाको बारेमा धेरथोर राम्रै जानकारी राखेको छु । यसबीचमा मूलुकका दुई ठुला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संयुक्त वामगठबन्धनले मलाई साझा उम्मेदवारको बनाएको छ । यस मानेमा म निकै खुशी छु । अर्को कुरा त म लामो समय यता नेपाली राजनीतिको मुलधारमा छु । खोटाङको भूगोललाई मैले राम्ररी बुझेको छु । यसले गर्दा निर्वाचनको बेला म उम्मेदवार भएर जनताको घरदैलोमा गइरहँदा एकदमै सकरात्मक प्रतिक्रियाहरु मैले पाएँ । जसले मलाई थप हौसला मिलेको छ । मेरो उम्मेदवारी सिङ्गो खोटाङ्गे जनताको पक्षमा हो । मैले जितेर जाँदै गर्दा सिङ्गो खोटाङका नागरिकहरुले जित्ने छन् । खोटाङ जिल्लाको समग्र विकासमा मेरो महत्वपूर्ण र ऐतिहासिक भूमिका रहने छ ।
अहिलेको राजनीतिक अंक गणितलाई हेर्ने हो भने पनि हामीले निर्वाचन जितिसकेका छौँ । खोटाङ जिल्लामा ५६ सालमा प्राविधिक हिसाबले हामी पराजित देखिएको भएपनि त्यसबेला एमालेको विभाजनको फाइदा उठाएर एक पटक काँग्रेसले निर्वाचन जितेको थियो । त्यसपछिका दिन खोटाङ वामपन्थीको लालकिल्ला नै हो त्यो यसपटक पनि कायमै हुनेमा सबै जनता ढुक्क रहेको मैले पाएको छु ।
२, तपाईलाई खोटाङका केही भेगका मतदाताले नौलौ मानिरहेका छन् भन्ने पनि सुन्नमा आएकोछ सत्य के हो ?
यो प्रश्न नै कताबाट आयो भन्ने बुझ्न जरुरी छ । म लामो समय खोटाङ जिल्लामा बसेर पार्टीको कामसँगै जनताको काममा तल्लिन छु । मैले चुनावी अभियानका क्रममा समेत धेरै भन्दा धेरै मतदाताहरुसँग भेटघाट गरेको छु । यसबीचमा कहिँ कसैले पनि मलाई नौलो मानेका पाएको छैन । सबैले राजन राई कहाँको हो ? के खान्छ ? के लाउँछ सबैले थाहा पाएका छन् । अझ यो जुन किसिमका भ्रम छरिएका छन् । विपक्षीहरुको हतासको मनस्थितिको उपज मात्र हो । त्यसैले म यस्ता कुराको पछाडि नलाग्न सबैमा आग्रह गर्दछु ।
३, गठबन्दनको तर्फबाट साझा उम्मेदवार भईरहँदा सन्तुलन कसरी मिलाउनु हुन्छ ?
हामी त्यसबेलादेखि निष्ठाको राजनीति गर्दै आएका राजनीतिक प्राणीहरु हौँ । हाम्रो पार्टीले अहिले नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेको छ । यो क्षणिक समयका लागि मात्र होइन । यो गठबन्धन पार्टी एकतासम्मका लागि बनेको हो र हामी सबै सहमत भएका छौँ । हिजो हामीले नेपाली वामपन्थी आन्दोलनमा एउटै साझ उद्देश्य राखेर फरकफरक ठाउँबाट लडेकाले हामी कमजोर भयौँ भन्ने बुझाइ दुवै पार्टीका नेताहरु तथा हामी कार्यकर्ताहरुलाई समेत परेको बेला यो ऐतिहासिक गठबन्धन भएपछि सबैमा एक किसिमको जाँगर पलाएको छ । उत्साहा थपिएको छ । गठबन्धनमा रहेका हामी सबैको एउटै लक्ष्य, उद्देश्य रहेकाले यहाँ सन्तुलन असन्तुलन भन्ने नै रहँदैन हामी सबै बराबरी छौँ । हामीले समृद्ध खोटाङ बनाउने बाटो समाती सकेका छौँ । यो बाटोमा सँगसँगै हिँड्ने हो । हामीले समाजवादको बाटोमा हिँड्न चाहेका छौँ । यसका लागि यो निर्वाचनपछि दुबै पार्टीको एकता हुने निश्चित छ । यो एकतापछि पाँच वर्षका लागि स्थायी सरकार निर्माण गरेर जनताको आधारभुत आवश्यकता पूरा गर्ने कार्यक्रमहरु हामीले सञ्चालन गर्ने हो यसले नै हाम्रो सन्तुलन मिलाउने छ ।
४, मतदाताहरुले अरु प्रत्यासी उम्मेदवारहरुले भन्दा फरक चाँहि तपाईबाट के अपेक्षा गर्ने ?
अरुले के गर्छन् त्यो मलाई जानकारी रहेन तर, म जिल्लाको एक जिम्मेवार नेता भएका नाताले मेरो भूमिका महत्वपूर्ण हुनेछ । अरुतिर मैले पानी, विजुली, सडक सबैले भोट माग्ने माध्यमका रुपमा अगाडि सारेको सुँने । त्यो दुःख लाग्दो विषय हो । हामीले समृद्धिको यात्रामा निस्कँदा यी आधारभूत कुराहरु हुन् । हामीले आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक हिसाबले समाजलाई कसरी रुपान्तरण गर्न सकिन्छ भन्ने विषयमा दुरदृष्टि राख्नुपर्दछ । समृद्धिको कुरा त्यती सहज छैन । मुखले भनेर मात्र समृद्धि हुँदैन । समाजको विकास पनि सम्भव छैन । यसका लागि गठबन्धनको तर्फबाट आएका घोषणा पत्रमा समेत हामीले केही नयाँ कुराहरु लिएर आएका छौँ । हामी स्थिर सरकारको पक्षमा छौँ । अहिलेसम्म भएका प्रयासहरु हेर्दा राजनीतिक स्थायित्व छैन । कुनैपनि सरकारले आफ्नो पूरा अवधी काम गर्न पाएनन् । यसले नतिजा जहिल्यै शुन्यमा राखेको तितो यर्थात हाम्रो सामुमा रहेको छ । यसलाई अब राजनीतिक स्थायित्व दिन हामीले वाम गठबन्धन निर्माण गरेर अगाडि बढेका हौँ । यसले हामीलाई अरु भन्दा फरक रहेको देखाउँछ । अर्को कुरा के हो भने हामीलाई स्वार्थका लागि मिलेको आरोप पनि लगाउने गरेको सुनीयो । यसमा पनि हाम्रो साझा भावना र साझा स्वार्थ रहेका छन् । व्यक्तिगत रुपमा हामीसँग केही स्वार्थ रहेका छैनन् । त्यो भोली देखिने कुरा हो ।
५, जिल्लाको विकासका लागि तपाईले देखेको सपना कस्तो हो ?
म यस्ता निकै सपनाहरु साँचेर बाँचेको मान्छे । अरुले सपना देख्छन् । त्यसलाई कोरल्न सक्तैनन् । म ति सपनाहरु कोरल्न सक्छु । मैले देखेको खोटाङको सुन्दर तस्बिर छ । त्यो सबैलाई देखाउन सक्ने हिम्मत राख्छु । अगाडि भने जस्तै विकासका आधारभूत कुराहरु स्वच्छ पिउने पानीको धारा घरघरमा हुने, सबै गाउँका कुना कन्दराहरुमा मोटरबाटोको पहुँच रहने, प्रत्येक घरमा विजुली बत्तीसँगै अहिलेको दुनियाँलाई बुझ्न सकिने इमेल इन्टरनेटको पहुँच बिस्तार गरिने कुराहरुमा जोडबल हुनेछ । यी कामहरुमा अहिले स्थानीय तह र स्थानीय सरकारले पनि धेरै जसो कामहरु गर्नेछन् । यसमा हाम्रो भूमिका प्रभावकारी रहने छ ।
मैले देखेको सपना जिल्लाको आममान्छेको आर्थिक तथा सामाजिक समृद्धि हो । यसका लागी हामीसँग रहेको हलेसी, तुवाचुङ जायजुम, रुपाकोट, मझुवागढी, महुरे गढी, केपिलासगढी, डुम्रेकोट जस्ता ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको विकास गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्दछ । कृषि उत्पादनमा व्यापक सुधार गरेर किसानहरुको लागि नयाँनयाँ कार्यक्रमहरु सहित प्रोत्साहन गर्नुपर्दछ । हाम्रा उत्पादनहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा निकासी गर्नुपर्दछ । इलामको चिया भने जस्तै खोटाङको अँलैची बनाउन सकिन्छ । दिनानु दिन खेतियोग्य जमिन बाँझो भइरहेका छन् । लाखौँ युवाहरु वैदेशिक रोजगारको सिलसिलामा विदेश जानुपर्ने बाध्यतामा छन् । उनीहरुलाई आफ्नै ठाउँमा रोजगारको ग्यारेन्टी हुने किसिमका उद्योगहरु सञ्चालन गर्नुपर्दछ । यसका लागि हामीले आफ्नै किसिमका आयोजनाहरु सञ्चालन गर्न सकिन्छ । यसका लागि दीर्घकालीन गुरुयोजना निर्माण गरि काम अगाडि बढाउन सकेमा साँच्चै हेर्न लायक खोटाङ र समृद्ध खोटाङका नागरिक हामीले पाउने छौँ । यही हो सपना ।
६, अन्त्यमा केही छ ?
अवश्य छ नी । म यति खेर खोटाङको माटोमा जन्मिएर यहि ठाउँको माटोसँग पौठेजोरी खेल्दै यो अवस्थासम्म आइपुगेको छु । मलाई यो अवसर प्रदान गर्नुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद दिन्छु । मैले जानेर नजानेर यही खोटाङ्गे माटोका लागि काम गरिरहेको छु । यस्तो बेलासम्म आइपुग्दा मलाई मेरो पार्टी नेकपा (एमाले)ले खोटाङ जिल्लाको क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाएको छ । यसबेला खोटाङ जिल्लामा हामी वाम गठबन्धनको तर्फबाट निर्वाचन लडिरहेको छौँ । खोटाङको क्षेत्र नम्बर १ बाट म राजन राई सुर्य चिन्ह लिएर आएको छु । त्यस्तै खोटाङको क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका रामकुमार राई (पासाङ) हसियाँ हथौडा चुनाव चिन्ह लिएर निर्वाचन लड्दै हुनुहुन्छ । त्यसै गरी प्रतिनिधिसभामा एमालेका विशाल भट्टराई निर्वाचनको मैदानमा रहनुभएको छ । हामी तीनै जना वाम गठबन्धनका साझा उम्मेदवार हौँ । तपाईहरुले हामीलाई चिन्नुहुन्छ, जान्नुहुन्छ त्यसैले आफ्नो अमुल्य मत समेत प्रदान गर्नुहुनेछ । हामी विस्वस्थ छौँ वामपन्थीहरुको किल्लालाई कसैले तोड्न सक्दैन । हलेसीखबरबाट साभार