उम्मेदवार रामकुमार राई पासाङ |
वाम गठबन्धनका तर्फबाट खोटाङ क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्यका साझा उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा पूर्व सभाषद् रामकुमार राई (पासाङ) सँग निर्वाचन सम्बन्धी पत्रकार भीम राईले गरेको कुराकानीको सम्पादित अंश ।
१, वाम गठबन्दनका तर्फबाट भएको तपाईको उम्मेदवारीले जनतामा कस्तो प्रभाव पारेको छ ?
खासगरि मलाई हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा सदस्यको टिकट दिएर खोटाङ क्षेत्र नम्बर १ (ख)बाट उठाउने निर्णयसँगै जिल्लावासी उत्साहित हुनुभएको छ । अझ नेकपा (एमाले)सँग भएको गठबन्दनपछि जनताहरुमा निकै ठूलो जाँगर थपिएको छ । केन्द्रमा नेकपा एमाले र हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)को बीच पार्टी एकतासम्मको सहमतीले आम नेपालीमा सबैतिर उत्साह छ । स्वभाविक रुपमा खोटाङको मेरो क्षेत्रमा समेत राम्रो किसिमको प्रभाव पर्ने नै भयो त्यही भएको छ ।
२, निर्वाचनको परिणाम चाँही कस्तो होला ?
परिणाम हाम्रो पक्षमा आउने निश्चित भइसकेको छ । यति हो कसरी भारी मतातन्तरले विजयी हुने भन्ने मात्र हो । यसपटकको गठबन्दनले यो परिणाम आउने छ । हामी माओवादी केन्द्रका तमाम खोटाङे कार्यकर्ताहरुले प्रतिनिधिसभामा एमालेका नेता विशाल भट्टराईलाई भोट दिने छौँ । यस्तै खोटाङको (ख) मा मलाई एमालेका साथीहरुले भरपुर सहयोग गर्नुहुनेछ । यसले सरसरती हेर्दा हामी काँग्रेसलाई भारी मतान्तरले पराजित गर्ने निश्चित छ ।
३, तपाईलाई नै जनताले भोट किन दिने ?
जनताले मलाई भोट दिनु पर्ने कारण उहाँहरुकै काम गर्नुका लागि हो । हिजो हामीले भनेका कामहरु आजसम्म पूरा गर्न सकिएको छैन । ती कामहरु जो पूर्व माननीयहरुले सुरु गरेका छन् त्यसको निरन्तरता दिँदै आगामी पाँच वर्षमा खोटाङ जिल्लालाई नमूना जिल्लाको रुपमा स्थापित गर्नुछ । सामाजिक आर्थिक समृद्धिका लागि खोटाङका हामी वाम गठबन्दनका साझा उम्मेदवारहरुलाई जति चिन्ता छ । अन्य हाम्रा प्रतिस्पर्धीहरुसँग त्यस्तो योजना तथा भावी कार्यक्रमहरु नै नभएकाले पनि हामीलाई नै जनताले छान्ने छन् भन्नेमा म विस्वस्त छु ।
५, तपाई २०६४ सालको निर्वाचनमा तत्कालिन खोटाङ जिल्लाको १ नम्बर क्षेत्रबाट निर्वाचित हुनुभएको मान्छे किन यसपटक यो क्षेत्रमा ?
जुन क्षेत्रमा भएपनि खोटाङ त खोटाङ नै होनी होइन र ? हामी आम नेपाली जनताको मुक्तिको खातिर राजनीतिमा होमिएका हौँ । २०६४ सालमा मलाई मेरो पार्टीले खोटाङको माथिल्लो क्षेत्रमा जनताको काम गर्न जा भन्यो त्यही भएर गएँ । त्यसबेला यस क्षेत्रमा कमरेड अस्मिताले चुनाव लड्नुभो । हामीले चुनाव पनि जित्यौँ । त्यसबेला हाम्रो दोहोरो भूमिका रहेको थियो । संविधान निर्माण गर्ने र व्यवस्थापिका संसदको काम पनि गर्नुपर्ने । त्यसले केही अफ्ठ्यारो नभएका भने होइन ।
६, नेताहरुलाई चुनावमा मात्र भोट माग्न आउने चुनावपछि गाउँ नर्फकिने आरोप लाग्छ । तपाई पनि चुनावा जितेपछि गाउँ त्यती आउनुभएन भन्ने आरोप छ नी ?
हेर्नुस यो आरोप अरु नेताहरुलाई लागेको होला । तर मेरो हकमा भन्ने हो भने यो सरासर झुटो हो । हिजो हामीले जनयुद्धका समय पनि यिनै गाउँका जनताको घर घरमा रहेका थियौँ । २०६४ को निर्वाचनमा निर्वाचित भएर गएपछि पनि हामीले खोटाङ जिल्लाको शिर उच्च बनाउने काम गरेकै हौँ । अघि माथी भने जस्तै त्यो बेला हाम्रो दोहोर जिम्मेवारी थियो र पनि जिल्लामा आउने मतदाताहरुको दुःख सुखमा रमाउने कामहरु प्रशस्त भएका छन् ।
७, चुनाव जितेपछि खोटाङ जिल्लालाई कस्तो जिल्ला बनाउने सपना बुन्नु भएको छ ?
अवश्य सपना बिना कुनै आँट गरिन्न । मसँग पनि अवश्य थुप्रै सपनाहरु छन् । जिल्लाको समग्र विकासको जिम्मा हाम्रो काँधमा आउने भएकाले केही सपनाहरु निकै लोभ लाग्दो देखिएको छ । अबको पाँच वर्षभित्र जिल्लाको सबै ठाउँमा केन्द्रीय विद्युत विस्तार भइसकेको हुने छ । अहिले भएका सडक सञ्जालको स्तरोन्नति गरी कालोपत्रे गर्ने काम हुने छ । यस क्षेत्रमा रहेको बराहा पोखरी, जन्तेढुँगा, धिप्लुङ झर्ना जस्ता स्थानहरुको विकास गरी पर्यटन प्रर्वद्धन गरिने छ । कोही पनि खोटाङे नागरिकले उपचार अभावका कारण मृत्यु हुने अवस्थाबाट मुक्त हुने छन् । यी र यस्ता थुप्रै योजनाहरु रहेका छन् । खास गरेर सडक यातायात, विद्युत् विस्तार, आधुनिक कृषि उत्पादनका कामहरु नै प्राथामिकतामा रहने छन् । यिनै कामहरुले नै खोटाङको आम नागरिको जीवनस्तरमा परिर्वतन समेत आउने छ । आर्थिक वृद्धि विकास हुने छ ।
८, अन्त्यमा खोटाङ्गे जनतालाई के भन्नुहुन्छ ?
सर्वप्रथम त समय लिएर मेरा कुराहरु राख्ने अवसर प्रदान गर्नु भएकोमा तपाई र तपाईको लोकप्रिय सञ्चार माध्यामप्रती हार्दिक आभार प्रकट गर्छु । यस पटकको निर्वाचनमा म तपाईको सामुमा खोटाङ्गे आम नागरिकको प्रतिनिधित्व गर्ने उद्देश्यका साथ संयुक्त वाम गठबन्धनको साझा उम्मेदवार बनेको छु । यस बीचमा सबैको घरदैलोमा आउने प्रयास गरेपनि समय नमिलेको र कतिपय ठाउँमा आइपुग्न नसकेको भए यहाँहरुसँग क्षमा माग्दै एक पटक फेरी तपाईहरुको सेवा गर्ने अवसर प्रदान गर्नुहुनेछ भन्ने आशा लिएको छु ।