खोटाङ ८ मंसिर

राधाकृष्ण माविको मतदान स्थल 

गत १४ असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा खोटाङको साकेला गाउँपालिका १ च्यानडाँडास्थित एक मतदान केन्द्र कब्जा गरिएको रहस्य खुलेको छ ।
राधाकृष्ण मावि मतदान केन्द्रमा नेपाली कांग्रेस समर्थकले बुथ कब्जा गरेको पाइएको हो । स्थानीय सर्वसाधरणले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा मतदान गर्न नपाएको भन्दै अहिले पनि त्यहाँ बुथ कब्जा हुन सक्ने भन्दै त्रासदी व्यक्त गरेका छन् । उनीहरुले आफूले इच्छाइएको उम्मेदवारलाई दबावका कारण मतदान गर्न समेत नपाएको बताएका छन् ।
यसरी भयो बुथ कब्जा !
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्ष भलकाजी गुरुङ उम्मेदवार बनेका थिए । उनी वडाअध्यक्षमा विजयी समेत भए । तर, त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्रबाट बुथ कब्जा गरेको आरोप भने उनीमाथि लाग्यो ।
माओवादी केन्द्रका एक स्थानीय नेता भन्छन्, गोप्य रुपमा मतदान गर्ने नजिकै मतपत्रमा स्वस्तिक छाप लगाएको देखिने गरी मान्छे राखेर त्रास फैलाइयो, बाटोमा डोरीले बाँधेर रोकियो, आफूलाई भोट हाल्ने प्रतिवद्धता जनाएपछि मात्र छिर्न दिइयो, आफूलाई भोट नहाल्ने जस्तो लागेमा आफैंले उसको भोट मैले हाल्ने हो, म हुँ इच्छाइएको व्यक्ति भनेर युवा तथा महिलाहरुको समेत भोट हालियो, त्यहाँ स्वच्छ मतदात नै भएन ।
एमालेका स्थानीय नेताहरु समेत यो कुरा स्वीकार गर्छन् । उनीहरुले पनि राधाकृष्ण माविमा स्वच्छ मतदान नभएको भन्दै १० मंसिरमा  हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन स्वच्छ बनाउन माग गरेका छन् ।
हाम्रोखोटाङ डटकमकर्मी मतदान केन्द्र पुग्दा बाटोमा डोरीले छेकेर जुस, विस्कसट चाउचाउ दिएको, कतिपयलाई अँगालो हालेर लगेको, कतिपय मतदातालाई दबाब दिएर स्वेच्छाएको व्यक्ति आफू रहेको भन्दै भोट हालिदिएको, गोप्य मतदान गर्ने ठाउँ नजिकै पनि कांग्रेस समर्थकलाई रहन दिएको, लाइनको सुरक्षा चेकजाँच गर्ने र स्वस्तिक छाप हान्ने ठाउँ नजिकै पनि कांग्रेस कार्यकर्तालाई बस्न दिएका दृश्यहरु देखिएको थियो ।
मतदान अधिकृत र सुरक्षाकर्मीसँग यो कसरी स्वच्छ मतदान भयो त भनेपछि केही समयपछि सशस्त्रको टोलि मतदान केन्द्र आएसँगै बाटोको अवरोध भने हटेको थियो ।
त्यहाँका सर्वसाधरणहरुले विगतमा जे भएपनि अबको निर्वाचन भयरहित बनाउन माग गरेका छन् ।
एक एमाले स्थानीय नेता स्थानीय चुनावबारे स्मरण गर्दै भन्छन्, कांग्रेसले निर्वाचनको अघिल्लो साँझ खसी काटेर भोज दिएको थियो । त्यतिबेला सबैलाई अनिवार्य बोलाइएको र नआए नराम्रो हुने चेतावनी दिइएको थियो । त्यसले पनि निर्वाचन स्वच्छ भएन । अबको निर्वाचन त्यस्तो नहोस् ।