खोटाङ मंसिर–१६, बेरोजगरीको चर्को समस्या रहेको देश नेपालमा लोकसेवा आयोगले ‘सिस्टम’ सिकाउने काम गरेको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको दाबी छ । लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालय खोटाङको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बाोल्दै कुनै पनि प्रणाली स्थापित हुन नसक्दा बितृष्णा फैलिरहेको अवस्थामा लोकसेवा आयोगले ‘सिस्टम’ स्थापित गरेको अध्यक्ष मैनालीले दाबी गर्नुभएको हो ।
हालै आयोजित उद्घाटन कार्यक्रमको विशिष्ट अतिथि मैनालीले नबनिर्मित भौतिक पुर्बाधारले आयोगका कर्मचारीलाई साना परीक्षा, ल्याब परीक्षा जस्ता काम गर्न सहज बनाउने जनाउनुभयो । मैनालीले जिल्लामा निर्मित भवन लोकसेवा आयोगको मुल्यमान्यताको प्रतीकको रुपमा रहने समेत बताउनुभयो ।
मैनालीले लोकसेवा आयोग सबैभन्दा पुरानो संबैधानिक निकाय रहेको जनाउँदै त्यसको साख गुम्न नदिन पाठ्क्रम, परीक्षा प्रबिधि परिवर्तन र आयोगलाई प्रबिधिमैत्री बनाउँदै युवाहरुको अटुट् आस्था तथा मिहेनतलाई कदर गर्न लोकसेवा आयोग खडा रहेको भनाई राख्नुभयो । अपबाद बाहेक लोकसेवा आयोगमा कुनै समस्या नरहेको पनि प्रष्ट पार्नुभयो ।
सगरमाथा अञ्चल आयोगले २०४५ साल असार ३० गते दिक्तेलका रामकुमारी सैंजु, तुलसीराम आचार्य र मनराज आचार्यको ६ रोपनी १ दाम जग्गा खरिद गरी २०६७ सालदेखी कागजी प्रक्रियासँगै भवन बनाउन थालेको थियो । २०७० असार ११ गते दिवा निर्माण सेवा प्रालि सातदोबाटो नामक निर्माण कम्पनीबाट आयोगले भवन जिम्मा लिएर कामकाज गर्दै आईरहेको थियो ।
सगरमाथा अञ्चलभित्र कर्मचारी पदपुर्ति गर्नका लागि २०२४ सालमा स्थापना भएको लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालय आफ्नै भवन नहुँदा ४६ वर्षदेखि भाडामा बस्दै आएको थियो । २ करोड ६३ लाख ६६ हजार ९ सय ५२ रुपैयाँमा निर्माण सम्पन्न भवन ४ वर्षपछि उद्घाटन गरिएको हो । समयमा अनुकुलता र प्राविधिक कारणले औपचारिक उद्घाटनमा ढिलाई भएको लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालय निर्देशक सुर्य कोईरालाले बताउनुभयो ।