
खोटाङ मंसिर–१९, वर्षाद्को कारण बिग्रिएको सडक मर्मतपछि खोटाङ सदरमुकाम दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सेवा सुचारु भएको छ । करिब ९१ किलोमिटर दिक्तेल–भोजपुर सिधा यातायात सुचारु भएको हो ।
जिल्ला सदरमुकाम दिक्तेलबजारबाट भोजपुरको देउरालीसम्मका लागि बिहान ७ ः १५ बजे बस छुट्ने व्यवस्था मिलाइएको यातायात व्यवसायी सङ्घ खोटाङका महासचिव रामकुमार हिङ्माङ्ले बताउनुभयो । गत वर्षदेखि सिधा यातायात सुरु भएको खोटाङ र भोजपुरमा देउरालीबाट पनि सोही समयमा बस छुट्ने व्यवस्था मिलाइएको छ ।
हिउँदको समयमा मात्र यातायात सञ्चालन हुने यस सडक खण्डमा यसअघि यस वर्ष चखेवासम्म मात्र यातायात सञ्चालन हुँदै आएको थियो । सिधा यातायात सञ्चालन भएपछि भोजपुर पुग्नका लागि चखेवा भञ्ज्याङबाट अर्को बस परिवर्तन गर्नुपर्ने बाध्यता हटेको छ ।
मध्य पहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडक सडक खण्डमा कालोपत्रेको काम पनि तीब्र गतिमा भइरहेको छ । तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ कालोपत्रेको काम थालिएको सडक फराकिलो पार्ने, ग्याभिङवाल भर्ने, पुल निर्माण गर्ने, गिटीढुङ्गा फोर्ने लगायत काम भइरहेको सडक आयोजनाका इन्जिनियर युवराज पाण्डेले जानकारी दिनुभयो ।
करिब ४६ किलोमिटर लामो सडक पाँच खण्डमा विभाजन गरेर कालोपत्रेको काम गरिएको छ । गोल्डेन गुड प्रालिले ठेक्का लिएको सडक करिब एक अर्बको लगानीमा कालोपत्रे सम्पन्न हुने जनाइएको छ ।