मंसिर–२०, निर्वाचन आयोगले प्रतिनिधीसभा र प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचन प्रणालीको मतगणना ४ दिन भित्र सक्ने गरी तयारी गरेको जनाएको छ ।मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका निर्वाचन आयुक्त इश्वरीप्रसाद दाहालले प्रत्यक्ष निर्वाचन प्रणालीको ४ दिन भित्र र समानुपातिकतर्फको ८ दिन भित्रमा मतगणना कार्य सक्ने ब्यवस्था मिलाएको जानकारी दिनुभएको हो । यसका लागि आयोगले शिक्षक बाहेकका सरकारी कर्मचारी र मत गणनास्थलको तयारी समेत गरेको जनाएको छ । कर्मचारीहरु बीच २४ घण्टामा ७ घण्टाका दरले ३ सिफ्ट बनाएर मतगणना गरिने आयूक्त पौड्यालको भनाई छ । ८ दिनभित्र मतगणनाको सम्पूर्ण काम सक्ने आयोगको लक्ष्य रहेको उहाँले बताउनुभयो ।
आयोगले प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना एकैसाथ गर्ने बताएको छ । तर एकैचोटी गन्न सम्भव नभए पहिला प्रत्यक्षतर्फको र त्यसपछि समानुपातिकतर्फको मतगणना गर्न सक्ने गरी मूख्य निर्वाचन आधिकारीलाई अधिकार समेत दिएको छ । स्थान, समय र कर्मचारीको अभाव भएमा समानुपातिकतर्फको मतगणना पछाडि गरिने भएको हो । मतदाताको संख्या हेरी मतगणनामको २४ घण्टाभित्र परिणाम नआए थप कर्मचरी ब्यवस्थापन गरिने आयोगले जनाएको छ ।
गत मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा भएको निर्वाचनको मतगणना २१ गते ५ बजे पछि शूरु हुने आयोगले जनाएको छ । दोश्रो चरणको निर्वाचनको मतगणना भने मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राजनीतिक दलबिच सहमती भएपछि मात्र शुरु गरिने भएको छ ।
मतगणना स्थलमा उम्मेदवारका प्रतिनिधी र मतगणक बस्ने स्थलको निश्चित दुरी बनाउने, दुई पक्षका बिचमा टेबुल, बेन्च, डेस्क, डोरी वा अन्य प्रकारका छेकबार राखिने तयारी छ । मतगणना स्थलमा उम्मेदवार, निर्वाचन प्रतिनिधी र मतगणना प्रतिनिधीले कुनै पनि हालतमा मतपत्र छुन नपाउने गरी छेकबार राख्ने र उच्च सुरक्षा प्रबन्ध मिलाउने आयोगले जनाएको छ । मतगणना स्थलमा सिसीटिभी समेत जडान गरिने भएको छ । ( रातोपाटी डटकमबाट)