
मंसिर–२१, खोटाङमा बेलुकी ७ बजे पश्चात मत गणना शुरु भएको छ । पहिलो चरणमा गत मंसिर १० गते मतदान भएको जिल्लामा आज बिहिबार बेलुकी ७ बजेर केही समय बितेपछि मुख्य निर्बाचन अधिकृतको कार्यालयमा मत गणना शुरु गरिएको हो ।
हरेक दुई घण्टामा मत गणनाको परिणाम माईकिङ गरी सार्वजनिक गर्ने गरी तार जालीले बारेर चार वटा कोठामा गणना शुरु गरिएको छ ।
मत गणनास्थलमा प्रवेश पाएका उम्मेदवार वा प्रतिनिधि, गणनामा खटिएका कर्मचारी, अनुगमनकर्ता, पत्रकार लगायतलाई सुरक्षाकर्मीले अदालतको गेट, भवनको मुल ढोका र मत गणनास्थानमा उक्लने सिँढीमा चेक गर्ने व्यवस्था मिलाइएको छ । मत गणनास्थलमा रहेका जुनसुकै ब्यक्तिलाई जुनसुकै समयमा सुरक्षाकर्मीले खानतलासी गर्न सक्ने प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभएको छ ।
दुई नगर र ८ गाउँपालिकास्थित ७९ मतदान केन्द्र रहेको जिल्लामा कूल एक लाख २५ हजार १ सय ८३ मतदाता रहेका थिए । जिल्लामा सम्पन्न मतदानबाट प्रतिनिधि तथा प्रदेश दुवै निर्बाचनमा बाम र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धी नतिजा आउने आँकलन गरिएको छ ।