खोटाङ पुस–४, वैदेशिक रोजगारीका क्रममा मृत्यू हुने खोटाङका मृतक कामदारहरुलाई सम्झँदै दीप प्रज्वलन गरिएको छ । वैदेशिक रोजगारीको क्रममा बिभिन्न देश गई मृत्यू भएकाहरुको सम्झनामा जिल्ला सदरमुकाम दिक्तेलबजारस्थित त्रिबेणीचोकमा जिल्लाबासीले दीप प्रज्वलन गरी सम्झना गरेका हुन् ।
अन्तराष्ट्रिय आप्रवासन दिवस–२०१७ को अवसर पारेर सोमबार साँझ सुरक्षित आप्रवासन परियोजना सामी तथा साझेदार संस्थाहरु बाल सेवा समाज नेपाल नेर्पा र नबकिरण सेवा समाज दुर्छिमले दिप प्रज्वलन आयोजना गरेका हुन् । दिवसको अवसरमा बिभिन्न कार्यक्रम आयोजना गरी अन्त्यमा ‘अन्तराष्ट्रिय आप्रवासन दिवस डिसेम्बर–१८’ अंकित मैनबत्ती बालेर मृतकलाई सम्झना गरिएको बालसेवा समाज नेपालले सञ्चनालन गरिरहेको बिद्यालय तथा आम सञ्चार कार्यक्रम संयोजक ओजनबाबु आचार्यको भनाई छ । दिप प्रज्वलन कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
“सुरक्षित, ब्यवस्थित र मर्यादित बैदेशिक रोजगार ः हाम्रो सरोकार !” भन्ने नारासहित वैदेशिक रोजगारीका कारण अति जोखिममा परेका रुपाकोट मझुवागढी नगरभित्रका १३ घरपरिवारलाई जनही १० हजार रुपैंयाँका दरले आर्थिक सहयोग समेत बितरण गरिएको छ । रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा जिल्लाबाट बिभिन्न मापदण्ड बनाई छनौट गरिएका घरपरिवारलाई आयमुलक ब्यवसायमा खर्च गर्ने गरी रकम हस्तान्तरण गरिएको हो ।
सरोकारवालाहरुको उपस्थिती रहेको कार्यक्रममा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी अन्र्तक्रिया समेत भएको थियो ।