काठमाडौं ९ पुस
नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य टंक राईले खोटाङको विकास र समृद्धि खोटाङे जनताबाट मात्रै सम्भव हुने बताएका छन् ।

हाम्रोखोटाङ डटकमसहित खोटाङे पृष्ठभूमिका विभिन्न मिडियाद्धारा शनिबार काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता राईले खोटाङे जनताले नचाहेमा संसारका जुनसुकै शक्ति लागे पनि खोटाङको समृद्धि सफल नहुने भन्दै खोटाङे जनता आफैं अघि सर्नुपर्ने बताए ।

नेता राईले सांसदलाई साना तिना पुल पुलेसो जस्ता कुरा उठाएर अल्झाएमा नीति निर्माण तहमा काम गर्न नभ्याउने भएकाले विकासको काम स्थानीय जनप्रतिनिधिमार्फत नै गर्न लगाएर विधायिकालाई विधायिकाको रुपमा काम गर्न दिनुपर्ने समेत बताए ।

नेता राईले पार्टी एकता चाँडै हुने बताउँदै माओवादी एमालेमा विलय नभएको र एमाले पनि माओवादीमा विलय नभई स्थायित्वका लागि दुइ पार्टी एकीकृत भएर नेपालको विकास र समृद्धिका लागि अघि बढ्न खोजिरहेको र नेपाली क्रान्तिको सही निकास दिन खोजिरहेको बताए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले खोटाङे जनताको शिर झुक्ने काम कहिल्यै नगर्ने बताए ।

यस्तै कार्यक्रममा आदीवासी जनजाती पत्रकार आन्दोलनका अग्रज पत्रकार प्रतापसिँ नाछिरिङले जिल्लाको ईतिहाँसमा आफ्नो भूमिका गौण देखिए पनि आफुले अन्र्तराष्ट्रिय स्तरमा नेपालको चिनारी दिन सहभागि भईसकेको जनाउदै नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेशसभाका विजयी नेताहरुलाई शुभकामना व्यक्त गरे ।

यस्तै किरात राई यायोख्खाको पूर्व अध्यक्ष तथा दुमी किरात राई फन्सीकिमको अध्यक्ष चतुरभक्त राईले खोटाङ जिल्लामा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकिय स्थलहरूलाई समय अनुकुल विकास गर्न अनिवार्य रहेको विचार व्यक्त गरेका छन् । उनले किराती समुदायको ऐतिहासिक दस्तावेज बनाउन नसक्दा राज्यको संयन्त्रमा हाम्रो पँहुच विस्तार नभएको बताए ।

कार्यक्रममा प्राध्यपक तथा लेखक डा धनप्रसाद सुबेदीले नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेशसभाका विजयी नेताहरुलाई शुभकामना व्यक्त गरे ।