
बिनिता राई/खोटाङ
पुस–१०, खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा वित्तीय साक्षरता कक्षा सञ्चालन भएपछि आयमुलक क्षेत्रमा लगानी गर्नेको संख्या बढ्दै गएको छ । नगरपालिकाको १, २ र ४ नम्बर वडामा गठित १५ वटा समुहबीच वित्तीय साक्षारता कक्षा सञ्चालन गरिएपछि आयमुलक क्षेत्रमा लगानी गर्ने सोंचको बिकास हुन थालेको पाईएको हो ।
समुहमा आबद्घ वैदेशिक रोजगारमा गएको परिवारका २ सय ९२ सहभागीहरुबीच वैदेशिक रोजगारवाट प्राप्त विप्रेषणलाई ब्यवस्थित गर्ने तरिकाबारे छलफल गर्ने गरिएको छ । सहभागीहरुले प्राप्त रेमिट्यान्सको हिसाव (आम्दानी र खर्च)को विवरण लेखेर राख्ने गरेको कारण हिसाव पारदर्शी भई पारिवारीक कलह समेत कम हुन सक्ने वित्तिय साक्षता कक्षाका सहजकर्ता मिनप्रशाद आचार्यले जानकारी दिनुभयो ।
वर्षभरी प्राप्त हुने विप्रेषणको आधारमा आफ्नो वित्तिय लक्ष्य (वार्षिक खर्च कटाई आयआर्जन तथा वचत) समेत समुहका सदस्यहरुले तयार गर्ने गरेका छन् । यसको साथै बच्चाहरुको फजुल खर्च कटौती गरी बचतको बानी विकासको लागि खुत्रुके बचत शुरु गदै वचत दरमा वृद्धि गरी वचतलाई वढावा दिन थालेको सहजकर्ताहरु बताउँछन् ।
वालसेवा समाज नेपाल, नेर्पा खोटाङद्वारा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत उक्त कक्षा सुचारु गरिएको हो ।
कक्षामा सहभागीहरुले विदेशमा रहेको आफ्नो परिवारको सदस्य अप्ठ्यारोमा परे उद्घार गर्न सजिलो होस भन्ने उदेश्यले महत्वपुर्ण कागजपत्रको प्रतिलिपि समेत विभिन्न सामाजिक सञ्जालबाट झिकाएर राख्न थालेका छन् । जसले गर्दा विदेशमा आफन्त अप्ठ्यारोमा परे सहयोग, खोजी तथा उद्दार गर्न सजिलो हुने परियोजनाले जनाएको छ ।