
खोटाङ पुस–१४, पत्रकारिताको माध्यमबाट पूर्ण खोप सुनिश्चितताका लागि योगदान पु¥याएको भन्दै खोटाङका दुई पत्रकार सम्मानित भएका छन् । जिल्लालाई पूर्णखोप सुनिश्चित गर्ने लगायतका स्वास्थ्यका क्षेत्रमा भएका अभियान र कार्य प्रगतिका विषयमा पत्रकारिताको माध्यमबाट महत्वपूर्ण भूमिका निर्बाह गरेको भन्दै पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष दमन राई र आदिबासी जनजाति पत्रकार महासंघ जिल्ला कार्य समितिको अध्यक्ष केदार मगरलाई जिल्ला अस्पताल, खोप समन्वय समितिले सम्मान गरेको हो ।
पत्रकारद्वयलाई शुक्रबार दिक्तेलमा आयोजना गरिएको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रमको अवशरमा सम्मान गरिएको हो । कार्यक्रममा एमालेका जिल्ला उप–सचिव कुमार आचार्य र कांग्रेसका नेता दुर्गाप्रसाद घिमिरेले पत्रकारद्वयलाई प्रशंसा–पत्र प्रदान गरेका छन् ।
१२ महिनादेखि २३ महिना पुगेका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि खोटाङलाई प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेका छन् । १२ महिनासम्मका ४ हजार १ सय २० जना र १२ महिनादेखि २३ महिनाको ४ हजार १ सय ८६ बालबच्चाले सबै किसिमका खोपको मात्रा पूरा गरेको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताए । २०७१ साल चैत्र १८ गते तत्कालिन गाबिस डाँडागाउँबाट सुरु गरिएको पूर्ण खोप सुनिश्चितता अभियान गत असार २६ गते रुपाकोट मझुवागढी नगरपालिकाका ५ वडालाई पूर्ण खोप सुनिश्चितता घोषणासँगै टुंगिएको थियो ।
पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रमकैबीचमा १५ वटा वडा रहेको रुपाकोट मझुवागढी नगरपालिकाका १२ स्वास्थ्यचौकी र दुई वटा शहरी स्वास्थ्य केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।