खोटाङ पुस–१४, खोटाङलाई हर्षोल्लासका साथ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । १२ महिनादेखि २३ महिना पुगेका जिल्लाका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि शुक्रबार भब्य कार्यक्रमको आयोजना गर्दै पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।
१२ महिनासम्मका ४ हजार १ सय २० जना र १२ महिनादेखि २३ महिनाको ४ हजार १ सय ८६ बालबच्चाले सबै किसिमका खोपको मात्रा पूरा गरेको आधारमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नुभएको हो । २०७१ साल चैत्र १८ गते तत्कालिन गाबिस डाँडागाउँबाट सुरु गरिएको पूर्ण खोप सुनिश्चितता अभियान गत असार २६ गते रुपाकोट मझुवागढी नगरपालिकाका ५ वडालाई पूर्ण खोप सुनिश्चितता घोषणासँगै टुंगिएको भए पनि समयाभाबका कारण औपचारिक घोषणामा ढिलाई भएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताउनुभयो ।
पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रमकै बीचमा १५ वटा वडा रहेको रुपाकोट मझुवागढी नगरपालिकाका १२ स्वास्थ्यचौकी र दुई वटा शहरी स्वास्थ्य केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय खोटाङले रुपाकोट मझुवागढी नगरपालिका क्षेत्र भित्रका सबै स्वास्थ्य संस्था नगरपालिकालाई हस्तान्तरण गरेको हो । नगरपालिका भित्र पर्ने १५ वटै वडाका स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्र शुक्रबार हस्तान्तरण गरिएको हो ।
दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरिएको कार्यक्रममा अस्पतालका प्रमुख डाक्टर रामबहादुर केसीले नगर प्रमुख दिपनारायण रिजाललाई स्वास्थ्य संस्था हस्तान्तरण गरिएको प्रमाणपत्र प्रदान गर्नुभयो ।
नेपालको संवैधानिक व्यवस्था अनुसार आधारभूत स्वास्थ्य र सरसफाइ स्थानीय तहले हेर्नुपर्ने हुन्छ । जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण गरेपछि सो तहको नीति र निर्देशनमा स्वास्थ्य संस्था सञ्चालन हुने ब्यवस्था छ ।