खोटाङ पुस–१५, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाको कार्यालयलाई दुर्छिमकै कोटगैरामा सार्ने निर्णय गराइएको भन्दै हाल रहेको दुर्छिमको छापडाडाँमै राख्न माग गरिएको छ । हाल नगरको ५ नम्बर वडामा रहेको कार्यालयलाई यथास्थानमै राख्नुपर्ने भन्दै एमाले, माओबादी केन्द्र र संघीय समाजबादी फोरम नगर कमिटिले अन्यत्र नसार्न ध्यानकर्षण गराएका छन् । 
कोटगैरा चिस्यान भएको, भिरालो र पहिरो चलिरहने भूगोलमा रहेकाले नगरपालिकाको कार्यालय अन्यत्र सार्न अनुपयुक्त हुने उनीहरुको भनाई छ । सबैको पायक पर्ने, चारैतिर देखिने रमाइलो–घमाइलो स्थानमा रहेको नगर कार्यालय यथास्थानमा राख्न उपयुक्त हुने एमाले नगरकमिटिका संयोजक चक्रबहादुर राईले बताउनुभयो । कोटगैरा आसपासमा केही नेताले जग्गा खरिद गरेकाले सोही स्वार्थ अनुशार नगरपालिकाको कार्यालय कोटगैरा सार्ने खेल भएको श्रोतको दाबी छ । 
नगर कार्यालय कोटगैरामा सार्न लागिएको भन्दै डिकुवा, च्यास्मीटार, दुर्छिम र हलेसी महादेबस्थानका वडाध्यक्षले विज्ञाप्तीमार्फत बिरोध जनाएको ८ दिनपछि राजनैतिक दलले पनि नगर कार्यालय सार्न नहुने धारणा सार्वजनिक गरेका हुन् । हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले भने अन्य जग्गामा अस्पताल, खेलमैदान र बसपार्क राख्ने तथा कोटगैरामा नगरपालिकाको कार्यालय राख्ने निर्णय भएको बताउनुभयो ।