लिला निरौला/खोटाङ
माघ–६, नगरपालिकाबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्या उल्लेख्य रहेको भन्दै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उदेश्यले खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा गन्धर्ब परिचालन गरिएको छ । वैदैशिक रोजगारीलाई सुरक्षित, मर्यादित एवम् उपलब्धिमुलक बनाउने अभियानअन्तर्गत साराङ्गीको धुनमा सजिएको सूचना तथा सन्देशमुलक गीत प्रस्तुत गर्नका लागि नगरपालिकामा गन्धर्ब परिचालन गरिएको हो । 
उक्त नगरपालिकाको आर्थिक सहयोगमा बालसेवा समाज नेपाल नेर्पा सुरक्षित आप्रवासन परियोजना सामीले नगरका पन्धै वटै वडामा गन्धर्बको साराङ्गी र गीतमार्फत सचेतना बिस्तार गर्ने कार्यक्रमलाई केही सातादेखि जारी राखेको छ । 
निःशुल्क सीपतालिम, निःशुल्क कानुनी सहायता, निशुल्क मनोसामाजिक परामर्श सेवा तथा ठगीबाट बच्ने उपाय लगायतका सन्देशमुलक जानकारी दिने गीतहरु प्रस्तुत गर्ने कार्यक्रम माघ महिनाभर सञ्चालन हुने जनाईएको छ । वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने प्रक्रिया, रोज्नुपर्ने बैधानिक बाटो, सिक्नुपर्ने भाषा लगायतका सूचनामुलक जानकारी समेत गीति यात्रामा गीतमार्फत प्रस्तुत गर्ने गरिएको छ । 
यससँगै, नगरपालिकाले शुरु गरेको फोहोरमुक्त नगर निर्माण अभियान सफल बनाउन समेत गन्धर्ब गीत मार्फत सन्देश दिने गरिएको छ । जथाभाबी फोहोर नगर्ने, घर–टोल तथा वडा सफा राख्ने, भएको फोहोरलाई निश्चित स्थानमा ब्यवस्थापन गर्ने लगायतका सरसफाई सम्बन्धी सन्देश प्रबाह गर्न समेत गनधर्ब परिचालन गरिएको मेयर दिपनारायण रिजालको भनाई छ ।