खोटाङ माघ–६, खोटाङमा एसियन लाईफ ईन्स्योरेन्स कम्पनीले बिमितको परिवारलाई पहिलो पटक जिल्लामै मृत्यु दाबी भूक्तानी गरेको छ । बिमा कम्पनीले रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल माटिकोरेका बिमित निरबहादुर कार्कीको श्रीमति सुमित्रादेबी कार्कीलाई शनिबार दिक्तेलबजारमै एक बिशेष समारोहको आयोजना गरी बिमा रकम भूक्तानी गरेको हो ।
४२ बर्षिय कार्कीको सामान्य बिरामी भई मृत्यू भएपछि बिमा गर्ने क्रममा ईच्छ्याएको ब्यक्ति सुमित्रालाई बिमा अङ्क र बोनस रकम गरी कूल तीन लाख ३९ हजार ७ सय ७० रुपैंयाँको चेक प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीले हस्तान्तरण गर्नुभएको हो । 
मृतक कार्कीले मिति २०७२ सालदेखि जीवन बीमा अभिकर्ता राजेश शाक्यमार्फत बीमाङ्क रकम रु तीन लाखको २६ हजारका दरले २ किस्ता बुझाएका थिए । बिमालेख नम्बर ६११५०००६९८२ उल्लेख भएको कार्कीको सामान्य मृत्यु भएकोमा कम्पनीको नियमानुसार  कूल बिमाङ्क र सो किस्ताको बोनस रकम गरी उक्त रकम प्रदान गरिएको कम्पनीको खोटाङ ईन्चार्ज किरणजीत राईले बताउनुभयो ।
 जिल्ला ईन्चार्ज राईका अनुसार सरकारले पछिल्लो समय मृत्यु दाबी रकममा असुल गर्दै आएको कर मिनाहा गरेपछि सतप्रतिशत रकम मृतकको परिवारलाई हस्तान्तरण गर्ने गरिएको छ । मृतक कार्कीको १७ र १२ बर्षिय दुई छोरा रहेका छन् । यसअघि केन्द्रमार्फत प्रदान गरिँदै आईएको बिमा बापतको रकम यो पटक जिल्लामै आएर प्रदान गरिएको कम्पनी सम्बद्घ ब्यक्तिहरुले बताएका छन् ।
 मृत्यू दाबी भूक्तानीसँगै मृतकलाई श्रद्घाञ्जली अर्पणको समेत कार्यक्रम राखिएको उक्त समारोहमा प्रमुख जिल्ला अधिकारीसँगै जिल्ला समन्वय समिति, नगर कार्यपालिका तथा दलका प्रमुख एबम प्रतिनिधिको उपस्थिती थियो । कम्पनीको भोजपुर जिल्ला ईन्चार्ज राजन राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्था, पत्रकार, अधिकारकर्मी, बिद्यार्थी कम्पनीको अभिकर्ता लगायतको सहभागिता थियो ।