खोटाङ, माघ – ७, प्रदेशसभाको शपथका लागि प्रदेश नम्बर १ का निर्वाचित सदस्य बिराटनगर पुगेका छन् । पद तथा गोपनीयतको शपथका लागि अधिकांश प्रदेशभा सदस्य शनिबार साँझ नै बिराटनगर पुगेका हुन् । खोटाङबाट प्रदेशसभामा निर्वाचित राजन राई, रामकुमार राई र उषाकला राई पनि शनिबार साँझ नै बिराटनगर पुगेका छन् । 
आईतबार प्रदेशसभा प्रमुख डा. गोबिन्द सुब्बाबाट शपथग्रहण लिनका लागि राजन काठ्माण्डौंबाट गाडीमा परिवारसहित बिराटनगर पुगेका छन् । शपथकै लागि रामकुमार पनि खोटाङको साकेला गाउँपालिकाबाट गाडीबाटै बिराटननगर पुगेका छन् । 
यस्तै, उषाकला पनि एमाले नेता भीम आचार्य, शेरधन राईको साथमा शनिबार साँझ हवाइजहाजबाट बिराटनगर ओर्लिएकी छन् । ‘हामीलाई बिहान दश बजे वीरेन्द्र सभागृहमा बोलाइएको छ,’ समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बनेकी उषाकलाले भनिन्, ‘बोलाइएको समयमा पुग्नका लागि तयारी गरिसकेका छौँ ।’