तीन करोड लगानीको कम्पोष्ट प्लान्ट तथा कृषि स्रोत केन्द्र उपयोग विहीन

खोटाङ फागुन–२३, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिब तीन करोड लागतमा निर्माण गरेको ‘दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र’ उपयोग विहीन भएको छ । कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको उत्पादकत्वप्रति किसानको विश्वास नहुँदा र बजार मूल्य पनि बढी भएका कारण कम्पोष्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र उपयोगविहीन भएको हो ।

नेपाल सरकार, अर्थमन्त्रालयको विशेष अनुदान एवम् प्रदेश सरकारको दुई करोड ७० लाख लागतमा निर्माण गरिएको कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको मूल्य प्रतिबोरा ५ सय निर्धारण गरिएको थियो ।
कम्पोष्ट प्लान्टबाट उत्पादित मल गोठको भन्दा मलिलो भएपनि महत्व बुझाउन नसक्दा किसानले बेवास्ता गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका अगुवा कृषक गंगा विश्वकर्माले बताउनुभयो ।

उद्घाटन अघि र केही समयपछिसम्म सामान्य मात्रामा प्राङ्गारिक मल उत्पादन हुँदै आएको कम्पोष्ट प्लान्टमा दुइ वर्षदेखि उत्पादन ठप्प छ । नगरपालिकाले उचित व्यवस्थापन गर्न नसक्दा कम्पोष्ट तथा वायोग्याँस प्लान्टबाट नियमित प्राङ्गारिक मल उत्पादन नभएको स्थानीयको आरोप छ ।कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मललाई किसानले आफ्नो गोठको मल सरह ठानेकाले नियमित उत्पादन गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।

नेपाल सरकारको विशेष अनुदान स्वरुप प्राप्त भएको रु तीन करोड ३२ लाखमध्ये कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्ट निर्माणमा एक करोड ८५ लाख खर्च भएको छ ।

यस्तै, कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्टको काममा प्रदेश सरकारको सशर्त अनुदान ५० लाख र नगरपालिकाको आन्तरिक स्रोतबाट ३५ लाख खर्च भएको जनाइएको छ । राज्यकोषको यति धेरै रकम खर्च भएको कम्पोष्ट मल तथा वायोग्याँस उद्योग उपयोग विहीन भएपछि नगरपालिकाको आलोचना भएको छ ।

कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्टसँगै अघिल्लो कार्यकालमा नगरभित्र निर्माण गरिएका दर्जन बढी भौतिक संरचना उपयोग विहीन भेटिएको नगर उपप्रमुख एवम् न्यायिक समितिका संयोजक विशन राईले बताउनुभयो ।।