खोटाङ माघ–१०, नेपालकै पहिलो आवधिक योजनायुक्त नगर बनाउने प्रक्रिया तीब्र बनाईएको खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा वैदेशिक रोजगार ब्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ । नगरबाट आप्रवासी कामदारको संख्या बढ्दो रहेको अवस्थामा वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, भरपर्दो तथा उपलब्धीमुलक बनाउँदै निश्चित समयाअवधीमा स्वरोजगारमुलक नगर ब्यवस्थापनका लागि योजना बनाउन सो बिषय प्राथमिकतामा राखिएको हो । 
नगरपालिकाले बनाउने आवधिक योजनाको स्वरुपभित्र केन्द्रले वैदेशिक रोजगारलाई नसमेटेको भए पनि नगरपालिका र सरोकारवालाको छलफलबाट आवश्यक्ता मनन् गरी उक्त बिषय समेटिएको मेयर दिपनारायण रिजालले बताउनुभयो । मेयर रिजालका अनुसार नगरको बृहत्तर बिकास योजनामा वैदेशिक रोजगार ब्यवस्थापनको बिषय समेत समेट्न अति आवश्यक ठहरिएको छ । 
हाल रोक्नै नसकिने अवस्थामा रहेको वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धीमुलक बनाउँदै निश्चित बर्षभित्र नगरपालिकका युवा वैदेशिक रोजगारमा जान नपर्ने गरी योजना बनाउन वैदेशिक रोजगारको अवस्थासम्बन्धी सम्पूर्ण बिबरण संकलन गरिएकोे छ । सुरक्षित आप्रवासन परियोजना सामीसँगको सहकार्यमा सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्दै आएको बालसेवा समाज नेपाल नेर्पा र नबकिरण सेवा समाज दुर्छिमले नगरको पन्ध्र वटै वडाबाट उक्त बिवरण संकलन गरिसकेको परियोजनाले जनाएको छ । 
दुई संस्था परिचालित भई संकलन गरिएको वैदेशिक रोजगारसँग सम्बन्ध राख्ने हरेक बिषयको तथ्याङ् आवधिक योजनाको संरचनाअनुरुप नगरपालिकामा बुझाउने तयारी गरिएको बिद्यालय तथा आम सञ्चार कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताउनुभयो । बालसेवा समाज नेपालले सञ्चालन गरेको बिद्यालय तथा आम सञ्चार कार्यक्रम संयोजक आचार्यका अनुसार आप्रवासनको अवस्था, वैदेशिक रोजगारमा रहने परिवारमा भएको समस्या, रेमिट्यान्सको उपयोग, बसाईंसराई लगायतको बिषयमा ३६ बढी प्रकारका तथ्याङ्क संकलन गरिएको छ । 

आवधिक बिकास योजना निर्माण तीब्र

नगरपालिकामा सञ्चालन गरिने योजनाको प्राथमिकता निर्धारणका लागि गत ३ गतेदेखि शुरु गरेको पाँच वर्षे आवधिक बिकास योजना निर्माण कार्य उत्साहपुर्ण तबरले अघि बढेको छ । आगामी फागुन मसान्तसम्ममा अन्तिम रुप दिनेगरी शुरु गरिएको रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक बिकास योजना निर्माणका लागि हाल सबै वडाको बिषयगत तथ्याङ्क संकलनको काम तीब्र गतिमा भईरहेको हो ।  
यही १२ गतेसम्ममा १५ वटै वडाको समग्र परिचयमुलक तथ्यांक सकंलन गरिसक्ने समयसिमा तोकिएको छ । १३ गतेदेखि तथ्याङ्क प्रोसेसिङ्को काम शुरु गरेर १८ र १९ गते पाँच वर्षभित्र गर्ने कामको प्राथमिकीकरण( भिजन सेटिङ) गरिने मेयर दिपनारायण  रिजालले जनाउनुभयो । 
योजनाको प्राथमिकीकरणपछि माघ २० देखि ३० गतेसम्म हरेक वडाको टार्गेट सहितको विषयगत छलफल गरेर आवधिक बिकास योजनाको मस्यौदा तयारी गरिने छ । आवधिक बिकास योजनाको मस्यौदालाई प्रमाणीकरणका लागि फागुन १५ गते कार्यशाला गर्ने र प्रमाणीकरण कार्यशालाबाट प्राप्त सुझावका आधारमा आवधिक योजनालाई अन्तिम रुप दिइने नगरपालिकाले जनाएको छ । प्रमाणीकरण प्राप्त आवधिक योजनालाई नगरकार्यपालिकाबाट स्वीकृति प्रदान गरेपछि आवधि बिकास योजनाको अन्तिम टुंगो लाग्ने मेयर रिजालको भनाई छ । 
मुलुकको ७ सय ५३ स्थानीय तहमध्ये रुपाकोट मझुवागढी नगरपालिका आवधिक योजना बनाउन अघि सर्ने पहिलो स्थानीय तह बनेको दाबी गरिएको छ । भौतिक बिकास, शिक्षा, स्वास्थ्य, शिक्षा लगायतलाई प्राथमिकतामा राखेर आवधिक नगर बिकास योजना बनाइने नगरपालिकाले जनाएको छ ।