
खोटाङ माघ–१४, बिश्वमै पहिलो पटक निर्माण हुँदै गरेको ऐतिहासिक किरात राई संग्रहालयको लागि खोटाङका समाजसेवी मनिकुमार राईले ५५ हजार रुपैंयाँ बढी सहयोग प्रदान गर्नुभएको छ । विश्वमा छरिएर रहेका किरात राई तथा अन्य समुदायको गन्तब्य स्थलको रुपमा स्थापित गर्न लागिएको खोटाङस्थित ऐसेलुखर्क–५ रिब्दुङ महेश्वरीमा निर्माणधिन संग्रहालयको लागि समाजसेवी राईले आईतबार ५५ हजार पाँच सय ५५ रुपैंयाँ रकम प्रदान गर्नुभएको हो ।
किरात राई यायोक्खा केन्द्रीय कार्य समितिको पूर्ब उपाध्यक्ष समेत रहनुभएको समाजसेवी राईले संग्रहालय निर्माण कार्य आफैमा महान र ऐतिहासिक भएको भन्दै निर्माण समितिको संयोजक साँस्कृतिक अभियन्ता खुक्सङ खम्बुलाई आफैले सम्पर्क गरेर ललितपुरमा उक्त रकम प्रदान गर्नुभएको हो । खोटाङ स्थित रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा स्थायी ठेगाना भएको समाजसेवी राईले यसअघि पनि संस्कृतिको संरक्षण तथा बिकास लगायत अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको थियो ।
यस संग्रहालय निर्माण कार्यमा सबै किरात समुदायले चासो दिँदै सकेको सहयोगमा आ–आफ्नो ठाउँबाट जुट्नुपर्ने समाजसेवी राईको भनाई छ । राईले आर्थिक संकलन पहलको लागि आफै पनि सकेको क्षेत्रमा लागी पर्ने बताउनुभएको निर्माण संयोजक खम्बुले बताउनुभयो । समाजसेवी राईसँगै अन्य किरात संस्कृतिप्रेमीहरु पनि स्वस्फुर्त रुपमा सहयोगमा जुटेपछि हालसम्म १६ लाख बढी रकम संकलन भईसकेको निर्माण समितिले बताएको छ ।
संग्रहालयको बिकास गरी किरात अध्ययन केन्द्रको रुपमा स्थापित गर्ने र पर्यटनमा समेत टेवा पु¥याउने गरी दीर्घकालिन योजना सहित निर्माण शुरु गरिएको संग्रहालयको लागि देशबिदेशमा रहेका किरात संस्कृतिप्रेमी तथा सामाजिक संघसंस्थाहरु सहयोगमा जुटिरहेको निर्माण समिति संयोजक खम्बुको भनाई छ ।
तीन बर्षमा सम्पन्न गर्ने गरी गत बर्षदेखि किरातीहरुको ऐतिहासिक संग्रहालय निर्माण अभियान शुरु गरिएको थियो । संग्रह निर्माणका लागि २ करोड रुपैंयाँ बराबरको बृहत योजना बनाईएकोमा यो बर्ष ५५ लाख रुपैंयाँ लागतमा संग्रहालयको एक तला निर्माण सम्पन्न गर्ने तयारी गरिएको छ ।
संग्रहालय भवन निर्माणका लागि वडाबाट ५ लाख रुपैंयाँ बजेट यो बर्ष बिनियोजन गरिएको छ । संग्रहालय निर्माण कार्यलाई महाभियानको रुपमा लिनुपर्ने भन्दै दाताहरुले स्वस्फुर्त रुपमा बोलकबुल समेत गरिरहेको निर्माण समितिले जनाएको छ ।
‘दश किरात, दश चुल्हो, एक भान्सा’ भन्ने किराती कथन अनुरुप किरातीहरुको मौलिक इतिहास, संस्कार, चालचलनलाई केन्द्रीत गर्दै निर्माण गरिने संग्रहालयको लागि सबै प्रकारको सहयोग सबै पक्षबाट आवश्यक रहेको संयोजक खम्बुको भनाई छ ।
दश किरातको प्रतीक स्वरुप दश भुजा र दश कोणमा डेकागन आकारमा किरात राई स्रग्रहालय निर्माण गरिने योजना छ । तीन तले गोलाकार भवनको धुरीमा मेटलबाट निर्मित चिण्डोको बर्निङ गजुर राख्ने तथा किराती बास्तुकलाले भरपुर सजाइने छ । संग्रहालय भवन पूर्णतः भूकम्प प्रतिरोधात्मक बनाउने टुंगो लागेको बताइएको छ ।
थुलङ राईहरुले आवाद गरेको जिल्लाको सुदुर उत्तर–पुर्वी दिशामा अवस्थित किराती ऐतिहासिक थलोमा संग्रहालय निर्माण गर्ने अवधारणा किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति रिब्दुङ महेश्वरीले बनाएको थियो । थुलुङ राईहरुको भाषा, संस्कृति अझै पनि जीवित रहेको रिब्दुङका प्रारम्भिक कार्य समितिले यायोक्खा जिल्ला र केन्द्रसँगको समन्वय र सहयोगमा संग्रहालय निर्माण प्रक्रिया प्रारम्भ गरेको निर्माण समितिले जनाएको छ ।

करिब २ करोडको लागतमा ३ बर्षमा निर्माण सम्पन्न गर्ने योजना अन्र्तगत हाल एक बर्ष बित्दा घडेरी सम्याउने, निर्माणस्थलमा गिटी–बालुवाको ब्यवस्था, काठ काट्ने लगायतका कार्य सम्पन्न भईसकेको छ । यही माघ अन्तिमदेखि घर निर्माणको काम शुरु गर्ने निर्माण समितिको तयारी छ ।