आठ बर्षिया बालिकालाई बलात्कारपछि हत्या गरी बगरमा गाडेको पुष्टी

खोटाङ माघ–१४, खोटाङमा हत्या गरी खोलाको बगरमा गाडिएको अवस्थामा फेला पारिएको आठ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टी भएको छ । गत माघ १० गते राति रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित स्थानीय चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी उनलाई सोही स्थानका १६ वर्षीय जीउधन राईले बलात्कारपछि हत्या गरेको पुष्टी भएको हो । 
घटना लगत्तै पक्राउ परेका जीउधनले दिएको बयान, घटनाको प्रकृति र शव परीक्षण गर्दा जबरजस्ती करणी गरेर ढाकछोप गर्न हत्या गरी खोलाको बगरमा गाडेको पुष्टी भएको प्रहरीले जनाएको छ ।  पुष्टी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।
सोही दिन माघ १० गते दिउसो करिब १२ बजेबाट हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला पारिएको जनाइएको छ । घटना लगत्तै पक्राउ परेका जीउधन विरुद्ध हाडनाता करणी र कर्तव्य ज्यान सम्बन्धी महल अन्तरगतको मुद्दा दर्ता गरेर कारबाही थालिएको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभयो । 
पक्राउ परेका जीउधन र मारिएकी लुमणी नाताले दाजुबहिनी हुन् ।