खोटाङ माघ–१४, खोटाङमा हत्या गरी खोलाको बगरमा गाडिएको अवस्थामा फेला पारिएको आठ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टी भएको छ । गत माघ १० गते राति रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित स्थानीय चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी उनलाई सोही स्थानका १६ वर्षीय जीउधन राईले बलात्कारपछि हत्या गरेको पुष्टी भएको हो ।
घटना लगत्तै पक्राउ परेका जीउधनले दिएको बयान, घटनाको प्रकृति र शव परीक्षण गर्दा जबरजस्ती करणी गरेर ढाकछोप गर्न हत्या गरी खोलाको बगरमा गाडेको पुष्टी भएको प्रहरीले जनाएको छ । पुष्टी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।
सोही दिन माघ १० गते दिउसो करिब १२ बजेबाट हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला पारिएको जनाइएको छ । घटना लगत्तै पक्राउ परेका जीउधन विरुद्ध हाडनाता करणी र कर्तव्य ज्यान सम्बन्धी महल अन्तरगतको मुद्दा दर्ता गरेर कारबाही थालिएको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभयो ।
पक्राउ परेका जीउधन र मारिएकी लुमणी नाताले दाजुबहिनी हुन् ।