
-प्रेमिला राई, बुइपा–खोटाङ

बेसुर बेसुर यात्रामा
कहाँ कहाँ फुट्यौ,कहाँ कहाँ टुट्यौ
र अन्तमा कहाँ छुट्यौ???
मिरमिरेको मधुर उज्यालो झै
धुमिल धुमिल सपना
अनि आखाभरी नाचेको घाम ,जुन,पहाड
कोख,भोक,शोख,रोग र योगको ठूलो झोला
बगाएर नारायणिमा
त्यो आखाको घाम जुन
त्यही पहाडमाथी उदाइरहुन भन्नको खातिर
के हिडेथ्यौ भिरको बाटो
अस्तायौ आफै र बिसायौ सारा सारा….
सडकको छरपस्ट कोलाहल
ब्यस्त चियापसल,भट्टी,दोहोरी
अनि स्टार टपहरु
बाडफाड,सम्झौता,बेचैनी
चल्तिका बजार,नगर र सहरहरु
निकाय ,सत्ता र सरकार
यसैबिच खै कहाँ हरायौ भेउ पाइन
भुलिएछौ तिमी
तिमिजस्तै केही तिमिहरु….
फेरि को को नचिनेकाहरु
अर्धकद उभिरहेछन मुस्कुराउदै आज
जो दाबी गरिरहेछन आफुलाइ महान सहिद
तिम्रो शालिकमा फुल चढाउन उठेका मेरा हात
आज जोड जोडले कापिरहेछ…
र त
मेरो मथिङ्गलमा सल्बलाइरहेछ एउटा प्रश्न
किन भइन्छ सहिद?
कसलाई किन भनिन्छ सहिद?
किन बनाइन्छ अर्धकदको शालिक
र प्रत्यक वार्षिकी किन चढाइन्छ फुल??