खोटाङ माघ–१९,  निर्माणाधिन ऐतिहासिक किरात राई सङ्ग्रहालयका लागि सिङ्गापुरबाट पनि सघाउने
खोटाङ माघ–१९,  खोटाङको ऐसेलुखर्क–५ रिब्दुङ महेश्वरीमा बिश्वकै पहिलो पटक निर्माणधिन किरात राई सङ्ग्रहालयका निम्ति सिङ्गापुर पुलिसमा कार्यरत् नेपालीले पनि सघाउने भएका छन् । किरात राई यायोक्खा जिल्ला कार्य समिति काठमाण्डौंको समन्वयमा सिंगापुर पुलिसमा कार्यरत बिशिष्ट ब्यक्ति र निर्माण पक्षको भेटघाट कार्यक्रममा सिङ्गापुरमा रहेका नेपालीहरुले उक्त संग्रहालयको लागि जुट्ने प्रतिवद्दता जनाएका हुन् । 
जिल्ला कार्य समितिका अध्यक्ष दिलिप रुङमाहाङ बान्तावाको समन्वयमा भू.पू. सिङ्गापुर पुलिस तथा हाल सिङ्गापुर सहकारीका म्यानेजिङ डाइरेक्टर जीवन राई र टेम्के छायाँ नामक संस्थाको कार्यक्रममा सिङ्गापुरेहरु नेपाल आउँदा काठमाण्डौंमा हालै गरिएको भेटघाटमा उक्त प्रतिबद्दता जनाईएको हो । 
उक्त भेटमा खोटाङको दिक्तेल स्थायी घर भई हाल सिङ्गापुर पुलिसमा कार्यरत इन्स्पेक्टर जितेन्द्र राईले  रिब्दुङमा बन्दै गरेको किरात राई सङ्ग्रहालय राई जातिको निम्ति महत्वपूर्ण हुने बताउँदै आफूहरुले सक्दो सघाउने प्रतिवद्दता व्यक्त गर्नुभएको निर्माण समिति संयोजक खुक्सङ खम्बुले बताउनुभयो । 
 संयोजक खुक्सङ खम्बुका अनुसार हालसम्म भएको प्रगति विवरण पेश गर्दै सङ्ग्रहालय सम्बन्धी आवश्यक कागजात समेत इस्पेक्टर जितेन्द्र राईलाई हस्तान्तरण गरिएको छ ।