खोटाङ, ३ फागुन ।
खोटाङको सालपा विकास बैंकले जिल्लाका चार स्थानमा आफ्नो शाखा विस्तार गर्ने भएको छ । रुपाकोट मझुवागढी नगरपालिकाबाट मुख्य कार्यालय सञ्चालन गरेको ख वर्गको बैंकले केही समयभित्रै सिम्पानी, खोटाङबजार, चिसापानी र बाक्सिलामा शाखा बिस्तार गर्न लागेको हो ।
यसअघि हलेसी र ऐसेलुखर्कबाट शाखा बिस्तार गरी सर्वसाधारणलाई सेवा दिईरहेको यस बैंकले जिल्लाका प्रत्येक गाउँपालिकाहरुमा एक्सटेन्सन काउण्टर खोलेर सेवा विस्तार गर्ने योजना अघि सारेको छ । बैंकका सिओ इश्वरमान राईले तत्कालका लागि चार ठाउँमा शाखा बिस्तार गर्न सम्भाव्यता अध्ययन भइरहेको बताए ।
सर्वसाधारणलाई बैंकिङ पहुँचसम्म ल्याउने उद्देश्यका साथ विकट गाउँहरुमा शाखा बिस्तार गराउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । उनले भने खोटाङ जिल्लाका केही भागमा बैंक स्थापना भइसकेपश्चात अन्य जिल्लामा पनि शाखा खोल्ने योजना बैंकको छ । जिल्ला बाहिर भने सोलुखुम्वु, धरान, भोजपुर लगायतका स्थानमा बैंकको शाखा बिस्तार गर्ने योजना बैंकले राखेको छ ।