खोटाङ फागुन–१६,  खोटाङमा ७ सय ७९ घरपरिवार भूमिहिन पाईएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङले मंगलबार पत्रकार सम्मेलन गर्दै १ सय ४९ भूमिहिन सुकुम्बासी, ५० भूमिहिन दलित र ५ सय ८० घरपरिवार अब्यवसिथत बसोबासी पाईएको जनाएको हो ।

केही लगत आउन अझै बाँकी रहेको आयोगले जनाएको छ । आयोगले गत भदौ १ गते सूचना प्रकाशन गरी असोज १ गतेसम्म जिल्लास्थित दश वटै स्थानीय तहमार्फत लगत संकलन गरेका थिए । बीचमा स्थानीय तहको निर्बाचनका कारण रोकिएको लगत संकलनका बाँकी ४ दिन मंसिर–२८ देखि पुष १ सम्म गरेको आयोगका जिल्ला अध्यक्ष सुरेश राईले बताउनुभयो । प्रत्येक स्थानीय तहमा सेवाकेन्द स्थापना गरेर आएको निवेदन तथा सिफारिसको आधारमा संख्या एकिन गरिएको अध्यक्ष राईको भनाई छ । निबेदन प्राप्त भएपछि डाटा ईन्ट्री लगायतका प्राबिधिक काम गरिएको छ । केही निवेदनहरु आवश्यक प्रकृया नपुगेकाले सच्याउन आवश्यक रहेकाले ती निवेदनहरु आउने क्रममा रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

प्राप्त निवेदनको आधारमा आवश्यक प्रक्रिया अगाडी बढाईएको र निबेदक परिवारलाई व्यवस्थापन गर्न पहल गरिने भुूमि आयोग खोटाङले उल्लेख गरेको छ । अब तुरुन्तै, हरेक वडामार्फत मिस्सा बितरण अर्थात निबेदन प्राप्त भएको जानकारी गराउने काम र छुटेका घरपरिवारलाई निबेदन दिने प्रक्रिया अघि बढाउने आयोगले जनाएको छ ।

हाल सम्म प्राप्त निवेदनका आधारमा सबै भन्दा बढी २ सय ६७ परिवार भूमिहिन रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रहेको छ भने सबै भन्दा ऐसेलखर्क गाउँपालिकामा १० परिवार मात्र रहेका छन् ।

यसैगरी, हलेसी तुवाचुङ नगरपालिकामा १ सय ६२ परिवार, खोटेहाङ गाउँपालिकामा २४ परिवार, केपिलासगढी गाउँपालिकामा १२ परिवार, जन्तेढुँगा गाउँपालिकामा ४६ परिवार, बाराहा पोखरी गाउँपालिकामा ५५परिवार, रावावेसी गाउँपालिकामा ५७ परिवार, दिपूङचुईचुम्मा गाउँपालिकामा ७२ परिवार र साकेला गाउँपालिकामा ७४ परिवारको निवेदन भूमि आयोग जिल्ला समितिमा आईसकेको छ । ।