तस्बिर सौजन्य  : गायक तथा संगीतकार पदम थुलुङ 
खोटाङ फागुन–९, खोटाङमा आगलागीबाट सख्त घाईंते बनेकी ५० बर्षिया महिलाको उपचारका लागि तत्कालै हेलिकोप्टर चार्टर गरी काठमाण्डौं पठाउन स्थानीयले १ लाख ७० हजार सहयोग रकम जुटाईदिएका छन् । बुधबार बिहान घरभित्रैबाट एक्कासी लागेको आगलागीमा घाईंते बन्नुभएकी रावाबेंशी गाउँपालिका–३ लामिडाँडाका रत्नमायाँ सार्कीलाई स्थानीय जनप्रतिनिधि, संघसंस्था, युवा, बिद्यार्थी लगायतको पहलमा उक्त रकम जुटाएर हेलिमार्फत काठमाण्डौं पठाईएको हो । 
रत्नमायाँको श्रीमान धनबहादुर सार्कीले काठ काट्ने मेसिनमा पेट्रोल हाल्ने क्रममा पुरै घर नष्ट बनाएको आगलागीबाट श्रीमति रत्नमायाँका साथै कान्छा छोरा समेत सामान्य घाइंते बनेका छन् । आगलागीबाट सार्कीको करिब साँडे १२ लाख रुपैंयाँ बराबरको धनमाल नष्ट हुँदा केही नरहेपछि घाईंतेको उपचारको लागि तत्कालै रावाबेंसी गाउँपालिका र लामिडाडाँका स्थानीयले १ लाख २० हजार रुपैंयाँ रकम संकलन गरेका हुन् । यस्तै, काठमाण्डौंमा रहने स्थानीयबाट जुटेको ५० हजार रुपैंयाँबाट हेलिकोप्टर चार्टर गरी घाईंते सार्कीलाई उपचार गराउन काठमाण्डौं पठाईएको स्थानीय पदम थुलुङ राईले बताउनुभयो ।     
   
  काठ काट्ने तथा चिर्ने उपकरणमा धनबहादुरले पेट्रोल लगाउने क्रममा ७ बर्षिया छोराले आगो चलाउँदा एक्कासी भएको आगलागीबाट सार्कीको जस्तापाताको छानो भएको घर तथा घरभित्र रहेको दुई तोला सुन लगायत धनमाल नष्ट बनेको छ ।  
केही चाँदी, एक लाख रुपैंयाँ नगद, सोही काठ चिर्ने मेसिन लगायतका जिन्सी र अन्नपात जलेर पूर्ण रुपमा नष्ट बनेको लामिडाडाँ प्रहरीले टिप्पणी उठाएका छन् । प्रहरीको टिप्पणी अनुरुप आगलागीबाट कूल १२ लाख ५६ हजार बराबरको क्षति भएको छ ।
लामिडाँडा प्रहरी, स्थानीय लगायतको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो ।
बिपद्को समयमा स्थानीय बिद्यालयका बिद्यार्थीहरुले समेत खाजा खर्च कटाएर करिब ५ हजार पीडित परिवारलाई जुटाईदिएको अनेरास्वबियु खोटाङका अध्यक्ष खेमराज देउसालीले जानकारी दिनुभयो । 
आठ जनाको संख्या रहेको उक्त पीडित परिवारको लागि हाल बसोबास तथा खाद्यान्नको ब्यवस्थामा स्थानीय जुटिरहेको बताईएको छ ।
खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा केही बचाउन नसकेकाले तत्कालका लागि स्थानीय युवाहरुको पहलमा करिब ५ हजार बढीको खाद्य सामाग्री प्रदान गरिएको बताईएको छ । बस्नको लागि भने पीडित सार्कीकै मतानमा ब्यवस्था भईरहेको छ ।