खोटाङ फागुन–१२, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाभित्रको सार्बजानिक जग्गा मिचेर निर्माण गरिएको घर–टहरा लगायतको संरचना हटाउनका लागि बल प्रयोग गरिएको छ । मापदण्ड बिपरितको संरचना हटाउन चौथोपल्ट दिएको म्याद बित्दा समेत सम्बन्धित ब्यक्तिले अटेर गरेपछि शुक्रबारदेखि नगरपालिकाले बल प्रयोग गर्दै डोजर लगाएर भत्काउन थालेका हुन् । 
धार्मिक तथा पर्यटकीयस्थल हलेसी आसपासमा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको अस्तव्यस्त संरचना हटाउँदै हलेसीलाई सुन्दर धार्मिक तथा पर्यटकीय नगरीका रुपमा बिकास गर्ने लक्ष्यका साथ सार्वजनिक एबं सडकको जग्गा अतिक्रमण गरेर बनाइएको संरचना हटाउन शुरु गरिएको हो । 
सुरक्षाकर्मी सहित हलेसी पुगेका सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुबेदीको उपस्थितिमा हलेसी तुवाचुङ नगरपालिकाले डोजर लगाएर टहरा भत्काउन थालिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । नगरपालिकाले हलेसी आसपासका २१ स्थानीयको २४ वटा टहरा भत्काईएको छ । 
जिल्ला नापी कार्यालयबाट अमिनि बोलाई सार्बजानिक जग्गामा निर्माण भएको एकिन भएको संरचनाहरु भत्काईएको मेयर राईले स्पष्ट पारे । मेयर राईको अनुसार सार्बजानिक जग्गा मिचेर निर्माण गरिएको सबै संरचना हटाईने छ । 
अब २२ वटा टहरा भत्काउन बाँकी रहेको जनाईएको छ । उक्त टहराहरु केही नीजि र केही सार्बजानिक जग्गामा बनेकाले अमिनीबाट एकिन गराई भत्काउने कार्य जारी राख्ने नगरपालिकाले जनाएको छ । 
सार्वजनिक सुचना प्रकाशन, सूचना टाँस एबं माइकिङ गरेर आग्रह गर्दा समेत टहरा हटाउन अटेर गरिएपछि नगरपालिकाले बल प्रयोग गर्नु परेको नगरका जनप्रतिनिधिहरु बताउँछन् । 
केही स्थानीयले भने निरिह र प्रतिवाद गर्न नसक्ने सर्बसाधारणको टहरा मात्र भत्काईएको गुनासो गरेका छन् ।  पहुँचवाला र टाठा–बाठाको घर–टहरा नभत्काईएको स्थानीय सुनाउँछन् । ‘त्यस्तै देखिएको छ । केही भत्काउनै पर्ने घर–टहराको कागज रोकिरहेका छन् भन्ने सुनिएको छ ।’ वडा नम्बर एकको सदस्य डिल्ली चाम्लिङले भने–‘ हलेसी मन्दिर नजिकै पर्ने रिठ्ठाबोटे लाईनको कुनै पनि टहरा छोईएको छैन ।’
हलेसी मन्दिर समेत रहेको वडा नम्बर–१ का अध्यक्ष चईन्द्र राईले भने सार्बजानिक जग्गा मिचेको वा नमिचेको भन्ने एकिन नभई बिवादित देखिएको बाहेक सबै संरचना भत्काईएको स्पष्ट पारे । 
उनी भन्छन्–‘भन्ने सबैले त्यही हो, तर बिवादित बाहेक सबै घर–टहरा भत्काईएको छ र भत्काईने छ ।’ एक घर भने सार्बजानिक र नीजि दुवै जग्गामा पाईएकोले विबादित बनेकाले एकिन भए पछि घरधनी स्वयमले भत्काउने कागज गरेर छाडिएको राईको भनाई छ ।