
लिला निरौला / खोटाङ
फागुन–१२, “भने जस्तो कहाँ हुदो रै’छ र विदेशमा । नेपालमा हुँदा अकै सपना बोकेर गइन्छ तर त्यो भन्दा फरक हुँदोरै’छ अर्काको देशमा ।’
भोजपुर जिल्ला अरुण गाउँपालिका–६ जरायोटारका हिमालसागर गन्धर्व रोजगारीको सिलसिलामा २०७१ सालमा विदेश जानु भएको थियो । उहाँलाई मलेसिया जानका लागि ८५ हजार रुपैया लाग्यो ।
१९ वर्षको हुनुहुन्थ्यो । सानै उमेर भएपनि विदेश जाने रहर जाग्योे । घरमा आर्थिक अवस्था कमजोर नै थियो हिमालसागरको बाबा र दाई पनि साराङ्गी बजाउनु हुन्थ्यो । उहाँको घरमा आमा–बाबा, दाई अनि बहिनि हुनुहुन्छ ।
तर उहाँलाई साराङ्गी बजाएर नेपालको कुनाकन्दरा डुल्नु भन्दा विदेश जाँदा नै राम्रो कमाई हुने सोँच आयो । गाँऊघरका दाजुभाईहरु पनि विदेश जाने क्रम त्यति नै थियो । त्यस पछि उहाँले विदेशको लागि सबै कुरा बुझेर मात्र जान्छु भनी सोँच बनाउनुभयो ।
हिमाल ज्यानमा पनि सानै हुनुहुन्थ्यो । मलेसिया गएको केही समयसम्म त निकै नै गाह्रो भएको थियो । साथीहरुले बोलेको कुरा पनि बुझ्न मुस्किल हुन्थ्यो ।
तर पनि बाध्यताले विदेश नै बसे । समय बित्दै जाँदा तर हिमाल बिरामी हुन थाले । हावापानी, रहनसहन नमिलेका कारणले उहाँलाई धेरै नै समस्या भयो ।
हिमाललाई काठ काट्ने सम्बन्धीको काम आउँथ्यो । त्यही भनेर ट्रेडमा जानु भएको थियो तर विदेशमा लेबरको काममा पर्नुभयो ।
विदेश गएको ३ महिना पुगेपछि चाहिँ साथीभाई सग घुलमिल हुन थाल्नु भयो ।
उता गाउँमा साहुको ऋण काढेर जानुभएकोले ब्याज पनि धेरै नै भैसकेको थियो । नेपालमा हुँदा मेनपावरले मासिक १२ सय हुन्छ भनका थिए । तर कम्पनीले ८ सय मात्र दिन्थ्यो ।
१ वर्ष भएपछि जेनतेन ऋण तिर्नुभयो । ब्याज धेरे नै भैसकेको रहेछ ।
२०७४ सालमा करार अवधि सकिएपछि हिमालसागर घर पर्किनु भएको छ । उहाँका दाई तेजिन्द्र गन्र्धव भने सुरक्षित आप्रवासन परियोजना सामीका कलाकार भएर खोटाङ रामेछाप र उदयपुरमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी गीत संगीतकोे माध्यमबाट सुचना दिदै आइरहनु भएको थियो ।
उहाँले पनि त्यही कामलाई प्राथमिकता दिएर हाल विभिन्न ठाउँमा सुचना सन्देश दिदै डुलिरहनुभएको छ ।
उहाँ भन्नुहुन्छ–‘विदेशमा काम गरेको अनुभवहरु गाउँसमुदायमा गएर सचेतना गँराउदा आनन्द आउँछ ।’
हिमालले विदेश बाट फर्किदा ऋण तिरिसकेर ३ लाख ५० हजार रुपैयाँ बचाउनुभएको थियो । तर विदेशमा भन्दा त नेपालमा अझ बढी कमाइने रहेछ भन्ने उहाँलाई लागेको छ ।
हिमालको एक मनले विदेशबाट ल्याएको पैसाले यहीँ नै ब्रोइलर कुखुरा फर्म खालेर बसौं पनि भन्छ । साराङ्गी बजाउने पेशालाई नै ब्यवसायिक बनाउन पाए पनि हुन्थ्यो जस्तो पनि लाग्छ ।
तर बिदेश कुनै पनि हालतमा नजाने उहाँको संकल्प छ ।
विदेशमा मालिकले गाली गरेको अझै पनि हिमालको कानमा गुञ्जिरहन्छ । ‘गाउँघरमा गएर विदेश जान लागेकाहरुलाई साराङगी बजाउँदै गीत गाएर सुचना दिन पाँउदा सारै नै आनन्द लाग्छ ।’
सुरक्षित आप्रवासन सामी परियोजना र बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा जिल्लामा सञ्चालित बिद्यालय तथा आम सञ्चार कार्यक्रम अन्र्तगत बिभिन्न गाउँटोलमा सम्पन्न गरिएको गन्धर्ब गीति यात्रामा हिमाल र उनका दाजु तेजिन्द्रले मन छुने गीत गाउँदै सूचना तथा सन्देश प्रवाह गरेका थिए ।