खोटाङ फागुन–१२, जिल्लाब्यापी गायन प्रतियोगिता खोटाङ आईडलको फाईनल चरणको लागि पाँच प्रतिभा छनौट भएका छन् । परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका राजापानीले आयोजना गरेको प्रतियोगिताको शनिबार दिक्तेलबजारस्थित समीक्षालय हलमा सम्पन्न छैठौं राउण्डको अडिसनबाट पाँच प्रतिभा छनौट भएका हुन् ।
निर्णायकको निर्णय र जनमतको आधारमा छनौट गरिएको छैंटौ अडिसनबाट केपिलासगढी गाउँपालिका सप्तेश्वरका तेज राई, सोही गाउँपालिका खार्ताम्छाका सुमन राई र रुपाकोट मझुवागढी नगरपालिका लफ्याङका अमिता राई रहेका छन् । यस्तै, दिप्रुङ गाउँपालिका छोरम्बुका रोहित चाम्लिङ र सिम्पानीका दिपा राई फाईनलको लागि छनौट भएको आयोजकले जनाएको छ ।
पाँचौ अडिसनबाट नै ६० प्रतिशत निर्णायकको निर्णय र ४० प्रतिशत जनताको मतबाट प्रतिभा छनौट गरिने प्रवधान बनाईएको प्रतियोगिता अन्तर्गत छैंटौ अडिसनका प्रतियोगीहरुलाई पूर्बेली लोकभाका र राष्ट्रियता झल्कने गीत प्रस्तुत गराईएको थियो ।
जिल्लाका गाउँ–गाउँमा लुकेर रहेका प्रतिभाको खोजी गर्दै अवसर प्रदान गर्ने उदेश्यले शुरु गरिएको प्रतियोगिताको छैठौ अडिसनका लागि गायक रुपकुमार राई, गायक तथा संगीतकार पृथी जिम्बा र पदम थुलुङ राई निर्णायक रहनुभएको थियो ।
प्रतियोगिताको फाईनल चैत्र ३ गते दिक्तेलबजारमा आयोजना हुने आयोजकले जनाएको छ । प्रतियोगिताको चौथो अडिसनबाट नै टिकट किनेर मात्र दर्शकलाई कार्यक्रम स्थलमा प्रबेश गर्न पाउने ब्यवस्था हुँदै आएको छ ।
विजेतामध्ये प्रथमले ५४ हजार ५ सय चौहत्तरका साथमा २१ हजार बराबरको मोटोरोला मोवाईल फोन, ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५ सय ७४ नगद र प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५ सय ७४ नगदसहित प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्ट एकजनाले २ हजार ५ सय ७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।