
फागुन–१४, अक्सर सांगीतिक कार्यक्रमहरुमा माईक्रोफोन लिएर मञ्चमा उत्रिने अनि अब्यक्त मिठाससहित सुरिलो स्वरबाट गीत प्रस्तुत गरिरहने एक रहर लाग्दो गायन प्रतिभा हुन् तेजकुमार राई । खोटाङस्थित केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको तेजकुमारसँग हाल जुन गायकीको लोभ लाग्दो ‘तेज’ भेटिन्छ, त्यो नहुन पनि सक्थ्यो ।
तेजकुमारलाई एक अध्ययनशील ब्यक्ति बनाउँदै निख्खर गायकको रुपमा स्थापित गर्न माउण्ट एभरेष्ट ईङलिस बोर्डिङ स्कुलले निस्वार्थ हिसाबले ठुलै लगानी गरिरहेका छन् । हाल फ्री स्कलरसीपमा उक्त बिद्यालयमा अध्ययनरत तेजकुमारको गायन क्षमताको पहिचान गर्ने अवसर भने गायन प्रतियोगिता ‘खोटाङ तारा’ले दिलाएको थियो ।
खोटाङ महासमाज काठमाण्डौंले २०६८ सालमा जिल्लामा आयोजना गरेको जिल्लाब्यापी गायन प्रतियोगितामा अनपेक्षित गायकी प्रस्तुत गर्दै उत्कृष्ट बीसमा पर्न सफल भएपछि तेजकुमारमाथि उक्त बिद्यालयको आँखा लागेको थियो । अब्बल गायन क्षमता राख्ने तेजको प्रस्तुतिबाट लोभिएका बिद्यालयका प्रिन्सिपलले तत्कालै तेजलाई बाल प्रतिभाको रुपमा कदर गर्दै बिद्यालयले माध्यमिक तहसम्म निःशुल्क अध्ययनको अवसर दिलाउने घोषणा गर्नुभएको थियो ।
सरकारी बिद्यालयमा अध्ययन गरिरहेको तेजकुमारले निःशुल्क रुपमा बोर्डिङ स्कुलमा अध्ययन गर्ने मौका पाएपछि शैक्षिक हिसाबले तीक्ष्णता त पाए नै, उनको गायन क्षमताको अझ तीब्र बिकास हुन पायो ।
बिभिन्न गायन प्रतियोगिताको उपाधी नजिक पुगेर पनि बाल आवाज भएकै कारण घर फर्कनुपरेको तेजकुमारको आवाजले पनि अब त परिपक्वता पाईसकेको छ ।
नेपालका बिभिन्न सांगीतिक प्रतियोगिताहरुमा भाग लिएर फाईनल चरणसम्म पुग्न सफल १६ बर्षिय तेजकुमार हाल खोटाङमा जारी गायन प्रतियोगिता ‘खोटाङ आईडल’को उत्कृष्ट–५ मा पर्न सफल बनेका छन् ।
बिद्यालयको अपार साथ पाएको तेजकुमार आफ्नो मेहनत, ईमान्दारिताका साथै सबैको सद्भाव र सहयोगले उपाधी नजिक पुगेको बताउँछन् । सबै प्रतिस्पर्धीको सम्मान गर्ने तेजले यो उपाधी आफ्नो लागि निक्कै महत्वपुर्ण भएकाले कडा मेहनत गर्ने बताउँछन् ।
हालसम्म पाईरहेको जस्तै निरन्तर मायाँ, सहयोग तथा सद्भावको साथ दर्शकको भोट पाए खोटाङ आईडलको पहिलो उपाधी आफ्नो नाममा दर्ता हुनेमा तेज आशाबादी छन् ।
तेजलाई अब्बल गायन प्रतिभाको रुपमा परिचय बनाएको हेर्ने ठूलो धोको भएको बिद्यालय परिवारले जनाएका छन् । बिद्यालयमा आयोजना हुने बिभिन्न अतिरिक्त क्रियाकलापमा समेत सक्रिय बन्दै उत्कृष्ट प्रस्तुति दिने तेजकुमार गायनमा मात्र होईन पढाईमा पनि उत्तिकै तेज छन् । कक्षाको पढाईमा प्रथम, दोश्रो वा तेस्रो स्थानमा कायम रहने प्रिन्सपल सागर जोशीले बताउनुभयो ।

२०४४ सालमा स्थापित बिद्यालयले अध्ययनसँगै बिद्यार्थीको अन्य प्रतिभाको बिकास गर्नमा पनि केन्द्रीत बन्ने गरेका छन् ।