खोटाङ फागुन–२१, खोटाङमा सुत्केरी महिला र नवजात शिशुको जीवन बचाउका लागि एकै गाउँपालिकामा दुई बर्थिङ सेण्टर स्थापना गरिएको छ । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको स्वास्थ्यचौकीमा दोश्रो बर्थिङ सेन्टर स्थापना गरिएको हो । 
सुत्केरी गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी, आवश्यक उपकरणको व्यवस्था, औषधि, कोठा लगायतको व्यवस्थापछि सोमबार गाउँपालिका प्रमुख भूपेन्द्र राईले दोश्रो बर्थिङ सेन्टरको उदघाटन गर्नुभएको हो ।
गर्भवती महिलाई सुत्केरी गराउनका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सेवा सुरु गरिएको हो ।
 गाउँमै बर्थिङ सेन्टर स्थापनाका लागि स्थानीय नव एकीकृत महिला संगठनले कोठा तथा सोलार, वनहर्टले उपकरण, गाउँपालिकाले बेड लगायतका आवश्यक पुर्वाधारको तयारी पछि बर्थिङ सेन्टर सुरु गरिएको हो । 
केही समयपछि छितापोखरीमा अर्को बर्थिङ सेन्टर स्थापनाको तयारी गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक मुस्ताडअहमत अन्सारीले बताउनुभयो । 
आमा र बच्चालाई अकालमा मृत्यु हुनबाट जोगाउनका लागि गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि गर्भवती महिला लाभान्वित भएका छन् ।